१३ मंसिर २०८१, बिहीबार
समाचार समाज

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

११ भाद्र, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ ।च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको ६ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो ।

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने ६ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए । मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा अध्ययनरत थिए । बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

यसअघि यही भदौ– ७ गते ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको थियो । विद्यालयबाट घर फर्कनेक्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चङ्खुखोलाको दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको हो । खिरुका स्थानीय टङ्कराम राईका छोरा अर्जुन र भोजकुमार राईका छोरा राजको शुक्रबार दिउँसो खोलाको दहमा डुबेर मृत्यु भएको स्थानीय पुरुषोत्तम राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्