वेब सिरिज ‘कलिलाे मन’ निर्माण सुरु, पहिलाे एपिसाेडकाे ट्रेलर सार्वजनिक
८ भदाै, भरतपुर । चितवनका युवाहरूकाे समूहले नेपाली वेब सिरिज ‘कलिलाे मन’ निर्माण प्रारम्भ गरेका छन् । सूर्यतारा फिल्म्स र मिजार पकेट फिल्म्सले संयुक्तरूपमा कलिलाे मन प्रस्तुत गर्न लागेकाे हाे ।
नवनिर्देशक पाभेल जेभियरले निर्देशन गरेकाे सिरिजकाे पहिलाे एपिसाेड छायाँकन सकिएर ट्रेलर सार्वजनिक गरिएकाे छ । केही दिनमै पहिलाे एपिसाेड सार्वजनिक हुने उनले बताए । सूर्यतारा फिल्म्सकाे युट्युब च्यानलमा सार्वजनिक गरिने वेब सिरिज १० एपिसाेडकाे हुने छ । त्यसलाई हरेक महिना दुई एपिसाेडकाे दरले सार्वजनिक गर्ने याेजना निर्देशक जेभियरले बताए ।
समाजमा द्वन्द्व र मायाका कारण अनेक दुर्घटना हुन्छन् भन्ने सिरिजले देखाउने निर्देशक जेभियर बताउँछन् । ‘कलिलाे मन समाजमा भइरहेका घटनाहरूकाे काल्पनिक प्रस्तुति हाे’, उनले भने-‘समाजमा विभिन्नखाले मान्छे अपराधमा कि त मायामा फसिरहेका हुन्छन्, जेमा फसे पनि कलिलाे मन सधैँ कलिलै हुन्छ भन्ने कथा हाम्राे हाे ।’
स्थानीय स्राेतसाधन र स्थानीय कलाकार समेटेर सिरिज बनाएकाे भन्दै उनले दर्शकले साथ दिने विश्वास व्यक्त गरे । सिरिजका सबै कलाकार चितवन र आसपासका छन् ।
सिरिजका निर्माता सुमन गहतराज हुन् भने कथा तथा संवाद सन्ताेष मिजारले लेखेका हुन् । सिरिजमा आरजु अधिकारी, ज्याेनी रेग्मी, विनाेदबाबु रिजाल, सरिफ खान, राज पाैडेल, विजन गुरुङ, सुमित गुरुङ, चिरञ्जीवी पन्थी, प्रशान्त खनाल, सन्ताेष मिजारलगायत कलाकारकाे अभिनय देख्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस्