३१ भाद्र २०८१, सोमबार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

जीवन विकास लघुवित्त वित्तीय संस्थामा तोडफोड र आगजनी

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासी कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भूइतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।

नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्यूटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरु फुटाए । इनभर्टरका व्याट्रीहरु क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्साघम्सी समेत भएको थियो ।’

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्, ‘क्षतिको मूल्यांकन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । आगजनी र तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास सुरु गरिएको छ ।

लघुवित्त संस्थाहरुले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरुलाई कारवाही गर्ने अभियानीहरुले दबाव स्वरुप यस्तो हर्कत गरेको हुन सक्ने स्थानीयहरुले बताए ।

 

प्रतिक्रिया दिनुहोस्