३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध

१२ भदौ, तम्घास (गुल्मी) । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको उनले बताए । वितरण केन्द्रले मर्मत गरिरहेको छ ।

अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै छ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले बताए ।

कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विद्युत् पुर्‍याउन मर्मतको काममा खटिएकाले आज दिनभरमा विद्युत् सञ्चालन गर्ने सम्भावना रहेको पोखरेलले जानकारी दिए । गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पुर्‍याइएको छ । वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्