३१ भाद्र २०८१, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

हाटबजारमा गुञ्जिन्छन् देउडा भाका

१२ भदौ, घोडाघोडी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीय पद्मादेवी धामी शनिबार कुरेर बस्नछन् । शनिबारका दिन घोडाघोडी–१ सुखडमा देउडा खेल्ने कार्यक्रम हुने भएकाले उनी कुरेर बस्नछन्।

धामीले भने, “अछामकी छोरी हुँ, पहिले पहिले पहाडमा देउडा खेलिन्थ्यो । तराई आएपछि खेल्ल छोडिएको थियो, आजभोलि शनिबार हाटबजारमा देउडा खेल लाग्दोरहेछ, त्यसैले सहभागी हुन जान्छु ।” धामी जस्तै घोडाघोडी–८ की धनसरा जोशी पनि प्रत्येक शनिबार देउडा खेल्न जान्छन् । “यो खेल लाग्न सुरु भएदेखि प्रत्येक शनिबार यहाँ आउने गरेकी छु”, उनले भने ।

विभिन्न मेलामहोत्सवको आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर किसानले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर देउडा खेल लागिरहेको हुन्छ ।

पद्मा र धनसरा जस्तै घोडाघोडी नगरपालिका भित्रका देउडा पारखीहरु प्रत्येक शनिबार आउने दिन कुरेर बसिरहेका हुन्छन् । ताजा तरकारीसँगै विभिन्न किनमेल पाइनाका साथै देउडा खेलेर मनोरञ्जन पाइने स्थानीय डम्बर विष्टले बताए । यहाँ देउडा सुरु भएसँगै व्यापारमा पनि वृद्धि भएको व्यवसायी लक्ष्मी चौधरीले बताए । “रमाइलो हेर्दै व्यापार गर्न पाइन्छ । मङ्गलबार पनि हाटबजार लाग्छ, तर शनिबार देब्बर बढी व्यापार हुन्छ”, उनले भने ।

हाटबजारमा किसानले बिहान १० बजेदेखि तरकारी बेच्ने गर्दछन् । शनिबार भने दिउँसो ३ बजेपछि देउडा खेल्ने गरिएको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए। गत माघदेखि हाटबजारमार्पmत नियमित रुपमा देउडा सञ्चालन गरिरहेको उनले जानकारी दिए। देउडा खेल सञ्चालन भएसँगै किसानलाई व्यापारमा केही फाइदा पुगेको बताउँदै गौतमले यसले व्यापारका साथै देउडा संस्कृतिको संरक्षण गरिरहेको उल्लेख गर्नुभयो । घोडाघोडीसँगै जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्किचुहा नगरपालिकास्थित गुलरामा पनि हाटबजारमाफर्त देउडा संस्कृति जोगाउने गर्दै खइएको उनको भनाइ छ ।

हाटबजारमा देउडा लाग्ने दिन स्थानीयको घुइँचो लाग्ने गरेको बौनियाबजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमले बताए । ‘संस्कृति बचाऊ’ भन्ने उद्देश्यका साथ एक वर्षदेखि निरन्तर रुपमा हाटबजारमा देउडा खेलाउँदै आइएको उनको भनाइ छ । “यहाँ आइतबार र बिहीबार हाटबजार लाग्ने गर्दछ । बिहीबार देउडा खेलाउने गर्दछौँ”, अध्यक्ष बमले भने । देउडा खेल्नका लागि धनगढी, अत्तरिया, लम्की, महेन्द्रनगरका देउडा कलाकारलाई पनि निमन्त्रणा दिने गरिएको उनले जानकारी दिए। संस्कृतिको संरक्षणसँगै व्यापार र मनोरञ्जन पनि हुने भएकाले यसलाई निरन्तरता दिइएको अध्यक्ष बमको भनाइ छ ।

देउडा सुदूरपश्चिम क्षेत्रमा महत्वपूर्ण खेलका रुपमा मानिएको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहनुभएका संस्कृतिविद् टिएन जोशीले बताए । यसरी हाट बजारमार्फत देउडा संस्कृतिलाई जोगाउनु सकारात्मक पहल भएको उनको भनाइ छ ।

उपकुलपति जोशीले हाट बजारमा मात्र नभई विद्यालय, क्याम्पसहरुमा पनि संस्कृति संरक्षण र संवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । “युवालाई संस्कृति संरक्षणमा प्रेरित गर्नुपर्छ । यसका लागि विद्यालय स्तरबाट सहभागी गराउँदै लैजानुपर्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्