४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भूकम्प र आँधीको चेतावनीपछि जापानमा चामलको अभाव

१२ भदौ, काठमाडौं । सरकारकाले भूकम्प र आँधी आउने चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्दै गएको छ । पछिल्ला केही हप्तादेखि, जापानका धेरै सुपरमार्केटहरूमा चामल सकिएको छ ।

सन् १९९९ को जुनपछि जापानमा चामलको अभाव भएको यो पहिलो पटक हो । जापान टाइम्सका अनुसार चामल पाइने सुपरमार्केटहरूमा मानिसहरूलाई कम मात्रामा चामल किन्न आग्रह गरिएको छ ।

जापान सरकारले भूकम्प र आँधीको खतराबारे चेतावनी दिएको थियो । त्यसयता मानिसहरु त्रासमा चामल किनेर घरमै थुपार्न थालेकाले बजारमा चामलको अभाव हुन थालेको जापान टाइम्सको रिपोर्टमा उल्लेख छ ।

जापानमा मे देखि नोभेम्बर सम्मको महिनालाई टाइफुन सिजन भनिन्छ । यस अवधिमा लगभग २० वटा आँधीहरू आउँछन् । जसले गर्दा भारी वर्षा, पहिरो र बाढी आउने गर्दछ । आँधीको मौसममा पनि अगस्ट–सेप्टेम्बर महिनामा सबैभन्दा धेरै आँधी आउँछ । यो वर्ष १९ देखि २१ वटा हावाहुरी आउने सम्भावना छ । जापान सरकारले यी आँधीहरूबारे चेतावनी दिएको थियो, त्यसपछि मानिसहरू आतंकित भएका छन् र घरमा चामल भण्डारण गरिरहेका छन् ।

चामल अभावका बीच जापान सरकारले मंगलबार जनतालाई शान्त रहन अपिल गरेको छ । कृषिमन्त्री तेतासी साकामोतोले देशका कतिपय ठाउँमा चामल मौज्दातको अभाव रहेको भए पनि छिट्टै त्यसलाई पार गर्ने बताउँदै  अहिले धानको पर्याप्त स्टक रहेको जानकारी दिए ।

धान बाली वर्षमा एक पटक मात्र लगाइन्छ । सेप्टेम्बरमा नयाँ धान काट्ने काम सुरु हुनेछ, त्यसपछि बजारमा नयाँ बाली आएसँगै स्थितिमा सुधार आउनेछ ।

जापानमा अगस्ट १३ बाट ओबोन पर्व सुरु हुँदैछ । ओबोन पर्वको समयमा, मानिसहरूले आफ्ना पुर्खाहरूलाई श्रद्धांजलि अर्पण गर्छन् । यो पर्वका कारण मानिसहरु लामो बिदामा छन् । जसका कारण चामलको माग बढेको छ ।

योसँगै यो वर्ष जापानमा कीर्तिमानी संख्यामा विदेशी पर्यटक आएका छन् । जसका कारण पनि धानको अभाव भएको छ । जापान राष्ट्रिय पर्यटन संगठनको प्रतिवेदनअनुसार यस वर्षको जुनसम्ममा ३१ लाखभन्दा बढी विदेशी पर्यटक जापान पुगेका छन् ।

अमेरिकी कृषि विभागको विदेशी कृषि सेवाको प्रतिवेदनअनुसार २०२३–२४ मा जापानमा कुल धान उत्पादन ७३ लाख टन थियो भने चामलको खपत ८१ लाख टन थियो ।

चामलको अभाव र बढ्दो मूल्यका कारण सन् १९१८ जुलाईमा जापानमा आन्दोलन नै भएको थियो । त्यतिबेला धानको मूल्य बढेपछि किसान र सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गरेका थिए भने पछि शान्तिपूर्ण आन्दोलनले चाँडै हिंसात्मक रूप लियो र धेरै ठाउँमा आगजनी, लुटपाट, प्रहरी चौकी र सरकारी कार्यालयमा आक्रमण नै भएको थियो ।

यही आन्दोलनका कारण पूर्वप्रधानमन्त्री तराउची मसाताकेले पदबाट राजीनामा दिनुपरेको थियो । यस अवधिमा करिब २५ हजार व्यक्ति पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्