५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

जिबी राई पक्राउ गर्न दुई प्रहरी अधिकारी मलेसिया जाँदै

१२ भाद्र,  काठमाडौँ ।  विभिन्न सहकारीको अरबौं ठगीमा संलग्न गिरेन्द्रबाबु(जिबी) राई पक्राउ गर्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया जाने भएका छन्। मलेसिया सरकारसँग समन्वय गरी उनलाई पक्राउ गरेर नेपाल ल्याउन सरकारले प्रहरी अधिकारी नै मलेसिया पठाउन लागेको हो ।
सहकारी ठगी गरेको रकम लुकाएर राई मलेसिया भागेका थिए । उनलाई पक्राउ गरेर नेपाल फर्काउन गाह्रो भएपछि सरकारले दुई प्रहरी अधिकारीलाई नै त्यहाँ पठाउन लागेको हो । यसका लागि इन्टरपोलसँग समेत समन्वय भइरहेको स्रोत बताउँछ । राईविरुद्ध इन्टरपोलले पक्राउ रेड नोटिस जारी गरिसकेको छ । नेपाल कास्की, रुपन्देही लगायत जिल्लामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । प्रहरीले अनुसन्धान गरेका बुटवलको सुप्रिम तथा पोखराको सुर्यदशन सहकारीका केही सञ्चालकहरु पक्राउ परी जेल परिसकेका छन् ।

राईले सहकारीको रकम अपचलन गरी ग्यालेक्सी टिभी लगायत संस्थामा लगानी गरेका थिए । सो टिभी डुबेपछि उनी फरार भएका हुन् । राई मलेसियामा रहँदै आएको प्रहरीले पत्ता लगाएको छ ।

राईसँगै सो ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका छन् । राई र लामिछाने ग्यालेक्सी टिभीमा साझेदार थिए । रविले राईको ठगीको आफुले जिम्मा लिन नसक्ने बताउँदै आएका छन् । रवि को व्यक्तिगत खातामा सहकारीबाट कर्जा नआएपनि कम्पनीको नाममा आएको थियो ।

रवि गृहमन्त्री हुँदा मलेसियन गृहमन्त्रीसँग टेलिफोनमा कुरा गरी राईलाई पक्राउ गर्न आग्रह गरेका थिए । तर, राईले मलेसियाको कानूनअनुसार उनलाई गरेर नेपाल पठाउन समस्या भएको हो । नेपाल र मलेसियाविरुद्ध सुपुदर्गी सन्धि छैन ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्की फरार रहेका राईलाई विदेशबाट पक्राउ गरी ल्याउन नेपाल प्रहरीले आफ्नो प्रयास जारी राखेको बताउँछन् । प्रहरी स्रोतका अनुसार राईलाई पक्राउ गरी ल्याउन अर्थ मन्त्रालयले २० लाख रुपैयाँ बजेट निकासा गरेको समेत प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्