३१ भाद्र २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार विचार समाचार

खेलाडी टिकाइराख्‍न नीतिगत र व्यवहारिक व्‍यवस्था जरूरी छः मन्त्री चौधरी

१३ भदौ ,काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले भने, ‘खेलकुदलाई विश्वभर उच्च प्राथमिकता दिइएपनि नेपाल सरकारले भने अझै पनि प्राथमिकतामा राखेको छैन । त्यसकारण खेलकुद क्षेत्रलाई नै उच्च प्राथमिकता दिन यसको नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्छ ।’

उनले सरकारले यसवर्ष पनि सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयलाई नै दिएको गुनासो गर्दै आउने वर्षमा खेलकुद पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए । ‘सरकारले यस वर्ष पनि सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा दिएको छ । खेलकुदमा भौतिक पुर्वाधारहरू लगायतका खेलहरू प्राथमिकतामा छैनन् । अब खेल र खेलाडीलाई टिकाइराख्‍न राज्‍यले लगानी बढाउनु जरूरी छ ।’

खेलकुदमन्त्री चौधरीले खेलाडी र उनका सन्ततिका लागि पनि राज्‍यले सेवा सुविधा उपलब्ध गराउने आफूले पहल र प्रयास गरिरहेको समेत बताए । उनले भने, ‘म विभागीय मन्त्रीको हैसियतले खेलाडी र नीजका सन्ततीका लागि सुविधा इमान्दारिपूर्वक उपलब्ध गराउने पहल र प्रयास गरिरहेको विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्