३१ भाद्र २०८१, सोमबार
कर्णाली खेलकुद प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

दशौं राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल सरकारले नगरोस् : प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् ।

शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस् । यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ । यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो । माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ, उनको भनाइ थियो ।

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै उनले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्