५ आश्विन २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

आजदेखि एन्फा महिला लिग सुरु, उद्घाटन खेलमा कोसी प्रदेश र वालिङ नगरपालिका भिड्दै

१६ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता रहनेछ ।

यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । लिगको उद्घाटन खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ । प्रतियोगितामा कुल ६९ खेल हुने उनले जानकारी दिए ।

लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०/५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्