५ आश्विन २०८१, शनिबार
खेलकुद समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै

१६ भाद्र, काठमाडौं । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ ।

सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो ।

“कामले गति लिइसकेको छ । कामदारको सङ्ख्या पनि उल्लेख्य छ”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा रङ्गशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताउनुभयो ।

महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माण फेरि सुरु गरिएको छ ।

सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताउनुभयो ।

उहाँका अनुसार अहिले दुई सय ५० जना कामदार खटिएका छन् । उहाँले पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्