३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार स्वास्थ्य

मिर्गौलाको क्यान्सर के कारणले हुन्छ ?

१६ भदौ, मिर्गौलाले शरीरबाट दूषित र हानिकारक तत्त्व एवं रसायनहरू छान्ने काम (फिल्टर) गर्छ । हानिकारक तत्वहरु पिसाबको माध्यमबाट मूत्रथैलीमा पुग्छन् । र अन्त्यमा मूत्रनलीबाट बाहिरिन्छ ।

यसरी मिर्गौलाले हाम्रो शरीरको रगतलाई स्वच्छ पार्छ । साथै रक्तचापलाई सन्तुलित राख्ने, शरीरमा पोटासियम, चिनी, युरिया, क्रियटिनिन लगायतका सूक्ष्म तत्त्व र भिटामिन,  लवण पदार्थहरूलाई सन्तुलनमा राख्ने जस्ता महत्वपूर्ण कार्य पनि गर्छ ।

मिर्गौला कस्तो अवस्थामा बसेको हुन्छ ?

प्रत्येक व्यक्तिमा दुईवटा मिर्गौला हुन्छन् । जुन पेटको पछाडिको भागमा मेरुदण्डको दायाँ र बायाँ अवस्थित हुन्छन् । आकारमा सिमीको दाना जस्तै देखिने मिर्गौलाको १० देखि १३ सेमी लम्बाइ र ३ देखि ५ सेमी चौडाइ हुन्छ । प्रत्येक मिर्गौला औसतमा १५० देखि २५० ग्रामसम्म हुन्छ

मुटुबाट ठूलो रक्त धमनीको माध्यमबाट रगत दुवै मिर्गौलामा आउने गर्छ । रगत मिर्गौलामा सफा भएपछि शरीरको अन्य भागमा फर्किन्छ ।

तसर्थ मिर्गौलाको रोग लागेमा जीवन कष्टकर हुन्छ । मिर्गौला विना जीवन सम्भव छैन ।

मिर्गौलाको क्यान्सर

मिर्गौलाको क्यान्सर प्रायजसो ५०–५५ वर्ष माथिका मानिसमा देखा पर्छ । कहिलेकाहीं यो कलिलो उमेरका बालबालिकामा पनि देखिने गरेको छ । विभिन्न क्यान्सरहरूमध्ये मिर्गौलाको क्यान्सर ४ प्रतिशतमा हुने पाइएको छ ।

मिर्गौलाका कोषिकाहरुमा खराबी उत्पन्न भएपछि क्यान्सरका कोषिकाहरुको प्रस्फुटन हुन्छ । यी कोषिकाहरू अनियन्त्रितरुपमा बढेपछि अन्य अंग र रक्तनलीमा फैलिन थाल्छन् ।

मिर्गौला क्यान्सरको जोखिम कसलाई बढी ?

– चुरोट पिउने, सुजीजन्य पदार्थ सेवन गर्ने व्यक्ति

– मोटोपन भएको व्यक्ति

– मिर्गौलाका दीर्घरोगी

– वंशाणुगत दोष

– उच्च रक्तचाप

मिर्गौला क्यान्सरको प्रकार

– रेनल सेल कार्सिनोमा

– क्लियर सेल कार्सिनोमा

– प्यापीलरी कार्सिनोमा

– क्रोमोफोब कार्सिनोमा

– मेडुलरी सेल कार्सिनोमा

– म्युसीनस सेल कार्सिनोमा

– ट्रान्जिसनल सेल कार्सिनोमा

– रेनल सार्कोमा

– विल्म्स ट्युमर

– हेरिडेटरी रेनल कार्सिनोमा

मिर्गौलाको क्यान्सरका लक्षण

– प्राथमिक चरणको क्यान्सरमा लक्षण नहुन सक्छ ।

– पिसाबमा रगत देखा पर्नु, रातो वा गुलाबी रंगको पिसाब जानु

– पेट र कम्मर दुख्नु

– पेटमा अथवा तल्लो ढाडमा डल्लो भेटिनु, निस्कनु

– थकान र कमजोरी

– खाना खान मन नलाग्नु

– तौल कम हुनु

– पेट, खुट्टा फुलेर जानु

– रगतको कमी हुनु

– रगतमा खराब तत्वहरु (युरिया, सीआर) बढ्नु

– पिसाबमा गडबडी हुनु

– ढाड र हड्डीहरू दुख्नु

कसरी परीक्षण गरिन्छ ?

रगत जाँच : यस अन्तर्गत रगतका तीनवटै कोष, युरिया, क्रियटिनिन, युरिक एसिड, सोडियम, पोटासियम, क्याल्सियम लगायत परीक्षण ।

पिसाबको परीक्षण : पिसाबको सामान्य र कल्चर परीक्षण ।

एमआरआई : यस प्रविधिबाट मिर्गौलामा भएको क्यान्सरको डल्लो (ट्युमर) को सहजै पहिचान हुनसक्छ । यदि क्यान्सरको कोषिकाले अन्य नजिकैको तन्तु, धमनी, मूत्रनली, गाँठोहरूमा छेडेको, अतिक्रमण गरेको, विकृत गरेको भए सहजै देखा पर्छ ।

सिटी स्क्यान : पेट तथा मिर्गौलाको सिटी स्क्यानबाट ट्युमरको आकार, अवस्था र स्थान र फैलावटबारे किटान गर्न सकिन्छ ।

अल्ट्रासाउण्ड : यसको मद्दतले ट्युमरको साइज र स्थानको आकलन गर्ने गरिन्छ ।

बायोप्सी : विशेष प्रकारको सियो प्रयोग गरेर सुरक्षित तरिकाले मासुको नमुना झिकिन्छ ।

क्यान्सरका चरण

प्रथम चरण : क्यान्सर ट्युमरको साइज केही सेन्टमिटर मात्र हुन्छ । यो अन्यत्र फैलिएको हुँदैन ।

दोस्रो चरण : क्यान्सर ट्युमरको साइज सात सेमीभन्दा ठूलो हुन्छ ।

तेस्रो चरण : क्यान्सर फैलिएर नजिकैको अन्य मांसपेशीमा छेडेको हुन्छ । रक्तनली तथा गाँठोहरुमा फैलिएको हुन्छ ।

चौथो चरण : क्यान्सर कलेजो, फोक्सो र पिसाब थैलीमा फैलिसकेको हुनसक्छ ।

उपचार

शल्यक्रिया : चिरफारद्वारा मिर्गौलाको क्यान्सरको उपचार गरिन्छ । यो तरिकाले सुरुवाती क्यान्सरलाई झिकेर फालिन्छ ।

मिर्गौलाको आंशिक शल्यक्रिया : यदि क्यान्सर सानो छ भने मिर्गौलाको बाँकी भागलाई जोगाएर सानो अंश मात्र काटेर फालिन्छ ।

मिर्गौलाको पूर्ण शल्यक्रिया : यसमा क्यान्सरको सिंगो मिर्गौला एवं वरपरको रक्तनली र गाँठोहरु चिरेर झिकिन्छ ।

विकिरणजन्य चिकित्सकीय प्रविधि

यस प्रविधिमा विकिरणको प्रयोगबाट क्यान्सरको कोषिकालाई निष्क्रिय पारी क्यान्सरलाई सुकाइन्छ । यसबाट क्यान्सर कण तथा कोषिकाहरुलाई अन्य अंकमा सर्नबाट रोकिन्छ ।

नष्ट : यस प्रविधिमा क्यान्सर कोषिकाहरूलाई अत्यधिक निम्न तापमान (चिसो ग्याँस) को प्रयोगले खण्डित गरेर नष्ट गरी ट्युमरलाई सुकाइन्छ ।

अन्य किसिमको प्रक्रियामा विद्युतीय तरंग दिएर क्यान्सरका कोषिकाहरुलाई नष्ट गरिन्छ ।

इम्युनोथेरापी : यसमा विशेष किसिमका औषधिले क्यान्सरका कोषिकाविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई आक्रामक र बलियो बनाउँछ ।

यस प्रक्रियाले क्यान्सरलाई नष्ट गर्छ । यो उपचार विधिले ५० देखि ६० प्रतिशत क्यान्सरका बिरामीलाई फाइदा गर्छ ।

केमोथेरापी : यो क्यान्सरमा केमोऔषधि त्यति प्रभावकारी छैनन् । यद्यपि केमोथेरापी औषधिको प्रयोग मिर्गौलाका कतिपय क्यान्सर रोकथामका लागि गर्न सकिन्छ ।

मिर्गौला क्यान्सरको रोकथाम

– मदिरा, चुरोट-सुर्तीजन्य पदार्थ सेवन नगर्ने

– फलफूल सागपात तथा तरकारी प्रशस्त खाने

– शारीरिक व्यायाम गर्ने

– शरीरको तौल घटाउने

– रक्तचाप नियन्त्रणमा राख्ने

– बोसोयुक्त खाना कम खाने

– पानी प्रशस्त पाउने

प्रतिक्रिया दिनुहोस्