३१ भाद्र २०८१, सोमबार
गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुस्ताएका घरबास पुनः सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिँदै

१६ भदौ, गलकोट (बागलुङ) । सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनमा ल्याइएको छ ।

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई पुराना र दुई नयाँ घरबास सञ्चालनमा ल्याइएको हो ।

कोरोना महामारी, पूर्वाधार अभाव, प्रचारप्रसार तथा तालिम प्राप्त जनशक्ति नहुँदा सुस्ताएका यहाँका घरबास पुनःसञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाभित्र स्थापना भइसकेर नियमित नभएका दुई र नयाँ दुई घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको फाउण्डेसनका सचिव उमेश गौतमले जानकारी दिए ।

काठेखोला गाउँपालिकामा चार स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने उद्देश्यले चार घरबासका अहिले ८० जनालाई खानाका विभिन्न परिकार बनाउने, सञ्चालनको तरिका तथा पहुनाको स्वागतदेखि बिदाइसम्मको प्रक्रिया सिकाइएको उनले बताए । उनका अनुसार तालिमपछि सञ्चालक पूर्वाधार निर्माणमा केन्द्रित भएका छन् ।

शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनको तयारी भइरहेको छ भने धम्जा देउराली र खानीगाउँ सामुदायिक घरबासमा पूर्वाधार निर्माण भइरहेको गौतमले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा पर्या–पर्यटनमार्फत सीमान्तकृत युवा र महिलालाई रोजगारी सिर्जना गरी आयआर्जनसँग जोड्न घरबास सञ्चालनका लागि सहयोग पुर्‍याइएको फाउण्डेसनका सचिव गौतमले बताए ।

घरबासलाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्यले तालिम दिइएको बताउँदै उनले सञ्चालकलाई घरबास व्यवस्थापन, स्थानीय पथप्रदर्शनसम्बन्धी जानकारी, आतिथ्यतालगायत विषयमा तालिम दिइएको उनले जानकारी दिए।

“विसं २०७५ मा जिल्लामा घरबास सञ्चालनको लहड नै चल्यो, पछि धेरै घरबास उचित व्यवस्थापन हुन नसक्दा बन्द भए, कतिपयले घरबास र होटलबीच फरक छुट्याउन सकेनन्”, सचिव गौतमले भने, “अहिले काठेखोलामा स्तरीय घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित सञ्चालनको तयारी थालेका छौँ । स्थानीय महिला तथा युवालाई आयआर्जनमा सघाउँदै पर्यटनसम्बन्धी गतिविधि बढाउन, घरबासलाई दिगो बनाउने अभियानमा छौँ । उनीहरुलाई पाक कला, पथप्रदर्शन र स्वागत, सत्कारको विषयमा जानकारी गराएको छौँ ।”

काठेखोला गाउँपालिकाले घरबास प्रवर्द्धनका लागि सहकार्य गरेको गौतमले बताए । उनका अनुसार पहिलो चरणमा चार वटा घरबास सञ्चालनमा ल्याइएको छ ।

फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनका अनुसार काठेखोलामा सात वर्षअघि दर्ता भएर नियमित हुन नसकेका शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनः सक्रिय गराइएको हो ।

पर्यटकीय क्षेत्रहरुमा घरबासका कारण आगन्तुकको आगमन हुने भएकाले स्वरोजगारसँगै पर्यटन प्रवर्द्धन गर्न धम्जाको पर्यटकीय सम्भावना बोकेको देउरालीमा सामुदायिक घरबास सञ्चालन गर्न थालिएको स्थानीय मेखबहादुर थापाले बताए। धम्जामा यसअघि बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ ।

उनले पहिलो चरणमा १० घरबाट घरबास सञ्चालनको काम थालिएको बताउँदै तीनदिने घरबास व्यवस्थापन तालिम लिइसकेको जानकारी दिए । उनले घरलाई घरबासमा परिणत गर्न सरसफाइ, सुत्ने तथा भान्सा कोठा, शौचालय र स्नान घर निर्माणमा यहाँका स्थानीय जुटेको बताए । धम्जाको देउराली गाउँ ताराखोला, तङ्ग्राम र धम्जाको केन्द्रमा पर्ने भएकाले पर्यटक भित्र्याउन समस्या नरहेको थापाको भनाइ छ ।

स्थानीय हिमालसागर श्रेष्ठले पहिलेदेखि देउराली व्यापारिक थलो भएको बताउँदै पर्यटकलाई व्यवस्थित खाने, बस्ने तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गराउने उद्देश्यले घरबास सञ्चालन गर्न थालिएको बताए ।

व्यवस्थित घरबासको अभाव खड्किएको काठेखोला–८ लेखानीमा खानीगाउँ सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । फाउण्डेसनको सहयोगमा लेखानीका २० घरबास सञ्चालकलाई सक्रिय बनाएर तालिम दिइएको घरबास सञ्चालन तथा प्रवर्द्धनको साझेदार संस्था काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए ।

घरबासमार्फत बसाइँसराइले सुनसान बन्न थालेका गाउँलाई जागरुक बनाउन स्थानीय तहले महिलालाई पाक कला तथा सीप विकास तालिम दिइरहेको उनले जानकारी दिए । न्यून आयस्रोत भएका महिला र युवालाई लक्षितगरी घरबास सञ्चालनका लागि सञ्चालकलाई सक्रिय बनाइएको उपाध्यक्ष थापाको भनाइ छ ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसारगरी आन्तरिक पर्यटन भित्र्याउने, स्थानीय उत्पादनसँग जोड्ने, उत्पादनलाई बजारीकरण गर्ने र स्थानीय पथप्रर्दशनसम्बन्धी सीप सिकाउनाले घरबास दिगो रुपमा सञ्चालनमा आउने काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । पर्यटकलाई चिया बगानदेखि हिमशृङ्खाला देखाउन सकिने भएकाले सात वर्षअघि स्थापना गरिएका यहाँका घरबासलाई पुनःसक्रिय बनाइएको उहाँले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्