५ आश्विन २०८१, शनिबार
समाचार समाज

कोरियाबाट फर्केर भेडापालनमा रमाएकाहरु

१७ भाद्र, काठमाडौँ । खोटाङ र भोजपुरको सिमा क्षेत्रमा रहेको मुन्दुम ट्रेल तथा मयुम क्षेत्रमा गरिएको ब्यवसायिक भेडा पालनले पदयात्रीको मनै  लोभ्याउन थालेको छ ।

खोटाङको केपिलासगढी तथा भोजपुरको सालपासिलिछोँ गाउँपालिका लगायतका युवाहरुले राखेका भेडीगोठ तथा भेडापालनले व्यवसाय मात्र फस्टाएको छैन, पदयात्रीहरुको मन पनि लोभ्याउने गरेको छ ।

दक्षिण कोरियामा दुई बर्ष रोजगारीमा बसी फर्किएका केपिलासगढी-१ का युवा प्रितिराज राई र सोही स्थानका २६ बर्षीय भैराज राई  लगायतका युवाहरुले यो क्षेत्रमा भेडा पालन थालेका हुन ।

यस्तै, साल्पाशिलिछो-६ दोभानेका रामप्रसाद राई लगायतले भेडी चोकमा राखेको भेडीगोठ पदयात्री पर्यटकको आकर्षण बन्ने गरेको छ । मौसम र समय अनुकुल खर्कको निश्चित ठाउँहरुमा गोठ सारिरहने भएकोले भेडी चोक भन्ने गरिएको भेडापालक भैराजको भनाइ छ । भेडापालनबाट आम्दानी तथा सन्तुष्टी दुबै बढेको कोरियाबाट फर्किएका प्रितिराजले बताए ।

आम्दानीका साथै पदयात्री पर्यटकहरुलाई आनन्द दिलाउन पाउँदा झनै सन्तोष लागेको भेडापालकहरु सुनाउँछन् ।भेडी गोठहरुलाई हिउँदको समय गाउँमै झारिन्छ ।  चैत्र-वैशाखबाट भने विस्तारै लेकतिर निकाल्ने गरिन्छ ।

लेकतिर निकालेपछि भने एकै ठाउँमा दुईदेखि पाँच जना सम्मको भेडा एकै ठाउँ मिसाएर राख्ने तथा चराउने गरिएको भैराजले बताए । यसो गर्दा आलोपालो गरेर घर आउन अर्थात फुर्सद मिल्ने भएकोले सहजता भएको रामप्रसाद राईको अनुभब छ । भेडालाई साथी बनेर डाँडाबाट कराउँदै चराउने गरेको उनीहरु सुनाउँछन । वैदेशिक रोजगारीका लागि युवाहरु मरिहत्ते गरिरहेका सन्दर्भमा प्रितिराज, भैराज, रामप्रसादहरु भने भेडा पालनबाटै जिविका चलाइरहेका छन् ।

भेडापालन मै भविश्य देखिरहेका युवाहरु बेरोजगार युवाहरुलाई साना–तिना उद्यममा लाग्न सुझाव दिन्छन् । मयुम क्षेत्रका भेडापालकहरु अन्य स्थानमा बस्नै मन नपर्ने बताउँछन् ।

बिशेषगरी भेडापालन गरेर सुन्दर मैयुम र सरकारले सय गन्तब्यमा निर्धारण गरेको मुन्दुम पदमार्गको शोभा बढाएको पर्यटकहरुको भनाइ छ । उनीहरुले आफ्ना भेडाहरुलाई जस्तै यहाँको प्रकृतिलाई पनि उत्तिकै माया गर्छन् । यहाँको जडीबुटी जनवारको संरक्षणमा उनीहरु हमेसा सचेत रहन्छन् ।

सो क्षेत्रमा घोडा, चौँरी, गाईभैँसी लगायतका जनावारहरु पनि सँगसँगै पालिएका छन् । जैबिक बिविधता र हिमश्रृंखला लगायतका बनस्पति, मौसमी फूलहरुले मनोरम बनाएको उक्त क्षेत्र पछिल्लो समय पदयात्री तथा पर्यटकहरको रोजाइको गन्तब्य बनेको छ ।

रामधन राई, खोटाङ

प्रतिक्रिया दिनुहोस्