१८ भाद्र, काठमाडौँ । अरनिको राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म सडक विस्तार वर्षा र स्थानीयको अवरोधले सुस्ताएको छ । आयोजनालाई हाल आठ दशमलव ४ किलोमिटर सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको छ ।

साँगा–धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरणमा उल्लेख छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् ।

सडक विभागका अनुसार विस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किलोमिटर सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।

विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधि ३६ महिना हो । हालसम्म २१ महिनाको अवधिमा आयोजनाको काम २८ प्रतिशत मात्रै पूरा भएको छ । वर्षाका कारण र बनेपा बजार क्षेत्रको केही स्थानमा अवरोधका कारण निर्माण रोकिएको छ ।

दुई लेन रहेको अरनिको राजमार्गको यस सडकखण्डलाई छ लेनका लागि विस्तारकार्य भइरहेको हो । सडक दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुनेछ ।