३१ भाद्र २०८१, सोमबार
पर्यटन मुख्‍य समाचार

पर्यटकीय गन्तव्य खोज्दै पदमार्ग अभियान

१९ भदौ, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान सुरु गरेको छ । पर्यटन व्यवसायी सङ्घ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो ।

‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पु¥याउने उद्देश्यका साथ पदमार्ग अभियानको सुरुआत गरिएको सङ्घका अध्यक्ष महेन्द्रसिं थापाले जानकारी दिए । उनका अनुसार सङ्घका पदाधिकारी, होटल तथा रिसोर्ट सञ्चालकसहितको टोलीले सुकुटे, थामडाँडस्थित भ्यू टावरदेखि ठोकर्पा बाघभैरवसम्मको पैदलयात्रा सम्पन्न गरेको छ ।

सुनकोशी गाउँपालिका–१ का वडाध्यक्ष कुमार शाहीका अनुसार उक्त पदमार्गले ठोकर्पास्थित सामुदायिक वन छिचोल्नुपर्छ । अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र पदमार्ग सामुदायिक वन हुँदै थामडाँडासम्म ६ सय मिटर ढुङ्गा कुँदेर पदमार्ग निर्माण गरिएको छ । बन्न बाँकी रहेको तीन किलोमिटर पदमार्ग सामुदायिक जङ्गल हुँदै भ्यु टावरसम्म चाँडै पूरा गर्ने वडाध्यक्ष शाहीले जानकारी दिए ।

सुकुटेमा बास बसेर घुम्न आउने पर्यटकलाई ठोकर्पाको मिलडाँडा, बुद्वपार्क, भ्यु टावर हुँदै चमेरो गुफासम्म पुग्न सकिने सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घका उपाध्यक्ष अञ्जान खड्का बताउछन् । त्यस्तै ठोकर्पामा रहेको सिन्धुपाल्चोक काभ्रे जोड्ने जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल, तित्रे महाङ्काल मन्दिर, बाघभैरव, भैँसेखोला, अक्करे भिरमा रहेको बोल्ने पहरो, जामुने पहरी बस्ती आदि सो क्षेत्रका पर्यटकीयस्थल हुन् ।

प्रतिक्रिया दिनुहोस्