३१ भाद्र २०८१, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

विशेषज्ञ डाक्टरलाई दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएपछि…

कांग्रेसकै नेताहरूको दबाबमा भूमिकाविहीन बनाइएको सापकोटाको दाबी

१९ भदौ, सुर्खेत । कर्णालीमा एक वरिष्ठ कन्सलटेन्ट जनरल सर्जनलाई विशेषज्ञ डाक्टरको दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको छ ।कर्णाली प्रदेश अस्पतालमा दरबन्दी भएका र हाल मेहलकुना अस्पतालको प्रमुख रहेका वरिष्ठ कन्सलटेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संशाधन विकास केन्द्रमा सरुवा गरिएको हो ।

मानव संशाधन केन्द्रले डाक्टरलाई तालिम दिने काम गर्दछ । उनलाई भदौ १३ गते केन्द्रमा सरुवा गरिएको हो । कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको निर्णय अनुसार सापकोटालाई त्यहाँ सरुवा गरिएको हो ।

सापकोटा दसौँ तहका डाक्टर हुन् । मन्त्री भण्डारीले मानव संशाधन विकास केन्द्रमा जनस्वास्थ्यतर्फका कर्मचारी नपठाएर विशेषज्ञ डाक्टरलाई जबरजस्ती थन्क्याएको भन्दै यतिबेला व्यापक विरोध भइरहेको छ ।

मन्त्री भण्डारीले आफ्नै दल (कांग्रेस) का कुनै ठुलो नेता तथा उक्त पार्टीमा आस्था राख्ने व्यक्तिहरूको दबाबमा त्यसो गरेको आरोप लागेको छ । मेहलकुना अस्पताल सुर्खेतको पूर्वी क्षेत्रमा पर्छ ।

डाक्टर सापकोटाले सरुवाबारे गुनासो गरेका छन् । उनले भनेका छन्, ‘मैले गर्नुपर्ने उपयुक्त काम र दरबन्दी मानव संशाधन केन्द्रमा छैन । मेरो विज्ञता अनुसार मेरो काम हुने ठाउँ भनेको कि प्रदेश अस्पताल हो, कि मेहलकुना अस्पतालमै । अप्रेसन गर्नु मेरो विज्ञता भएका कारण मेरो विज्ञताको उपयोग हुनु भनेको सरकार तथा बिरामीको लागि उपयुक्त कुरा हुन्छ ।’

उनी मेहलकुना अस्पतालमा बसेर सानो र मझौला खालको अप्रेसन गर्दा, यहाँको व्यवस्थापन सम्हाल्दा बिरामीलाई ठुलो राहत भएको नागरिक समाजको भनाइ छ । सापकोटा मेहलकुनामा ४ वर्षदेखि कार्यरत छन् । उनी त्यहाँ गएपछि अस्पतालमा निकै सुधार ल्याएको भन्दै प्रशंसा समेत बटुलेका छन् ।

मानव संशाधन विकास केन्द्रका कार्यालय प्रमुख धर्मजित शाहीले विशेषज्ञ डाक्टरलाई तालिम दिने संस्थामा सरुवा गर्नु उपयुक्त नभएको बताए । ‘उहाँ त बिरामीको उपचार गर्ने डाक्टर हो, यहाँ उहाँको मिल्ने दरबन्दी होइन,’ शाहीले रातोपाटीसँग भने, ‘खै किन मन्त्रालयले त्यसो गर्‍यो ! डाक्टरहरूको काम त हस्पिटलमा हुने हो, हाम्रो त तालिम दिने ठाउँ हो ।’

सापकोटाले साना अप्रेसन मेहलकुनामै र ठुला अप्रेसन प्रदेश अस्पतालमै आएर गर्ने गरेका छन् । उनले क्षेत्राधिकार बिर्सेर गरेको सरुवा विभेदपूर्ण रहेको भन्दै यथाशीघ्र बदर गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदनसमेत दिएका छन् ।

सापकोटाको सरुवा गर्नुमा उक्त क्षेत्रका सांसद तथा कांग्रेस उपसभाति पूर्णबहादुर खड्काको हात रहेको र उनकै निर्देशनमा प्रदेशका सामाजिक विकास मन्त्री भण्डारीले काम गरेको आरोप गुर्भाकोट जनता जागरुक समाजले लगाएको छ । खड्का, भण्डारी र प्रदेश सरकारलाई जोडेर यतिबेला सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ । उक्त क्षेत्रमा एमाले नेता टेकेन्द्र बस्नेतले घृणित राजनीतिले इमानदार डाक्टरलाई काम गर्न नदिएको भन्दै आलोचना गरेका छन् ।

यसअघि पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १११ जना कर्मचारीको सरुवा गर्दा सरकार आफैँले बनाएको मापदण्ड मिचिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव आनन्द सारुले यो विषयमा सामाजिक विकास मन्त्रालयलाई स्पष्टिकरण सोधिएको रातोपाटीलाई बताए ।

के भन्छन् डाक्टर सापकोटा ? (उनकै शब्दमा)

मलाई सरुवा गर्नुको तीन वटा कारण छन् । पहिलो कारण जेठ १२ गते यहाँ (मेहलकुना) अस्पताल तोडफोड भयो । उक्त समूहमा मैना विकका छोरा पनि छन् । विक गुर्भाकोट नगरपालिकाकी उपमेयर हुन् । भोलिपल्ट मिलिसकेको वार्तामा मैना विक आएर फेरि वार्ता भङ्ग गरिन् र आफैँ घटनामा संलग्न भइन् । उनी कांग्रेसकी महिला नेतृ हुन् भने कांग्रेस उपसभापति खड्का निकट पनि हुन् । त्यसपछि खगेन्द्र सुनार (आफूलाई दलित अभियन्ता भन्ने) लाई लगाएर मलाई धम्क्याउन लगाए ।

आफूलाई असुरक्षित हुने देखेपछि मैना विक, उनको छोरा, खगेन्द्र सुनार लगायत व्यक्तिविरुद्ध असार ७ गते मुद्दा दर्ता गराएँ । पक्राउ पुर्जी पनि जारी भइसकेको छ । अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

अस्पताल तोडफोड गर्ने, मेरो कर्मचारीलाई कुटपिट गर्ने गरेपछि अदालत गएको हो । त्यसो गरेपछि उनीहरूले यहाँबाट मलाई सरुवा गर्न खोजे र आफ्नो मान्छे ल्याएर मुद्दा कमजोर बनाउने ‘प्लानिङ’ गरे ।

दोस्रो विषय अस्पतालको गेट नजिकको मेडिकलसँग जोडिएको छ । प्रेम ओली भन्ने अस्पतालभित्र काम गर्नुका साथै मेडिकल राखेको छ । ऊ अहेव हो । उसले अस्पतालमा आएको बिरामी मेडिकलमा लगेर फाइदा उठाउने काम गर्छ । मैले यसलाई सुधार्न खोजेको हो । तर उसले मान्छे (कांग्रेस निकट) लगाएर मेरो बदनाम गर्न खोज्यो । किरण ओलीले मेरो बदनाम गरिरहेको छ, जो कांग्रेस क्षेत्र नं.–१ को उपसभापति हो । उनीहरूकै दबाबमा अहिले प्रेम, किरणले मलाई काट्छु, मार्छु भन्दै हिँडिरहेका छन् । मैले उसलाई कारबाही गर्छु भन्दा कांग्रेसका कार्यकर्ता लगाएर धम्काउने गरिरहेको छ ।

तेस्रो, प्रदेश अस्पतालको मेसु हुनबाट रोक्नु हो । यहाँबाट मलाई निकालेर प्रदेश अस्पतालमा नराखेर मानव संशाधनमा किन राखियो त ? म कर्णाली प्रदेशमा समायोजन भएको एकमात्र वरिष्ठ कन्सलटेन्ट जनरल सर्जन हो । म सचिव बन्ने मान्छे हो, अब म ११ औँ तह हुनेवाला छु । प्रदेश अस्पतालमा छिर्न नदिइ संशाधनमा पठाउनुको कारण डम्बर खड्का हो, जो पूर्णबहादुर खड्काको भाइ हो । डम्बरले कार्तिकमा अवकाश पाउने भएकाले त्यसपछि त्यहाँको मेसु हुने दाबेदार म हुँ । त्यही भएर मलाई अट्याक गरेका छन् । आफू रिटायर भएपछि आफ्नो पकेटको मान्छेलाई त्यहाँ हाकिम बनाएर राख्नको लागि यसो गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्