५ आश्विन २०८१, शनिबार
समाचार समाज

टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर

१९ भाद्र,  धनगढी । कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वनले विसं २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा सुरु नियुक्ति भई मिति २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति भएका थिए । यसका लागि उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एस.एल.सी.को झुट्टा प्रमाणपत्र पेस गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि भएको छ ।

त्यसैले उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्