३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो

२० भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ ।

एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राई मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो ।

उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन । ‘टोली मलेसिया गएर फर्केको हो, अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन मिल्दैन’, प्रहरी उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्री रमेश लेखकको पहलमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी टोली मलेसिया पठाइएको थियो ।

पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको हो ।

यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो । गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो ।

इन्टरपोललाई पठाइयो थप कागजात

यहीबीचमा नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई जीबी राईसँग सम्बन्धित थप कागजात पठाएको छ ।

जीबीलाई रेड नोटिस जारी गर्न यसअघि अदालती कागजातहरु, पक्राउ पूर्जी, अभियोजको पत्रलगायत कागजातहरु पठाइएको थियो । इन्टरपोलले जीबीबाट पीडितहरुको बयान कागज र साक्षीको बयान कागज माग गरेपछि ती कागजात अनुवाद गरेर पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

‘इन्टरपोलले थप कागजता मगाएपछि हामीले एक साताअघि पीडित र साक्षीका कागजात अनुवाद गरेर पठाएका छौं’, प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो

‘मलेसियामा अपार्टमेन्ट किनेर बसेका छन् जीबी’

नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापण्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरी स्रोतको छ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ ।

मलेसिया सरकारको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोतको भनाइ छ ।

मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणा अनुसार बसिरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको यसअघि प्रहरी महानिरीक्षक कुँवर आफैंले बताएका थिए ।

‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा समस्या भएको छ’, १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भनेका थिए ।

स्थलमार्गबाट भारत हुँदै मलेसिया

जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए ।

तर, त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोत बताउँछ ।

जीबी समूहले पोखराको सूर्यदर्शनबाट मात्र डेढ अर्ब रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले २०७६ सालपछिको विवरण हेर्दा सूर्यदर्शनमा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको भन्दै १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो । तर १६ माघमा पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेर चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको विवरण भेटिएको थियो ।

त्यसपछि उक्त सहकारीबाट थप १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ पुगेको थियो । यो मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पछि २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हाल ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्