वाइडबडीमा अरुलाई भ्रष्टाचार मुद्दा, निगम अध्यक्षलाई उन्मुक्ति
एउटै उपसमितिमा बसेर काम गरेकाहरूलाई भ्रष्टाचारमुद्दा चलेपनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उन्मुक्ति पाएका छन् । आरोपितहरूले विशेष अदालतमा उक्त ‘भेदभाव’ लाई प्राथमिकताका साथ उठाएका छन् ।
२० भदौ, काठमाडौं । विशेष अदालतमा बयान दिएका वाइडबडी खरिद प्रकरणका आरोपितहरूले आफूसरह निर्णय प्रक्रियामा संलग्न युवराज अधिकारीलाई मुद्दा नचलाएको विषय प्रमुखताका साथ उठाएका छन् ।
अधिकारी तीन वर्षदेखि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष छन् । आठ वर्षअघि नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद प्रक्रिया अघि बढाउँदा उनी निगमको वित्त विभागमा कार्यरत थिए । विमान खरिद प्रक्रियामा उनको संलग्नता रहेको प्रमाणहरु देखिए पनि अख्तियारले उनीमाथि मुद्दा चलाएन ।
अख्तियारलाई अनुकुल हुनेगरी प्रमाणको सिर्जना गरेको र त्यसबापत सहुलियत पाएको भन्दै आरोपितहरूले अनुसन्धानको निष्पक्षतामा प्रश्न उठाएका हुन् ।
अधिकारीको भूमिकामाथि प्रश्न उठाउनेमा निगमका तत्कालिन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारीदेखि त्यतिबेला वित्त विभागमा काम गरेका उनी मातहतका कर्मचारीहरू समेत छन् ।
विशेष अदालतमा पेश भएको वाइडबडी विमान खरिद भ्रष्टाचारको आरोपपत्र र त्यससम्बन्धी कागजात अनुसार, निगमको अर्थ विभागका तत्कालीन प्रमुख अधिकारी ६ माघ, २०७३ सालमा व्यवस्थापनले गठन गरेको सम्झौतासम्बन्धी नेगोसिएसन उपसमितिमा संलग्न थिए ।
अधिकारी संलग्न वार्ता टोलीले एयरबस उपलब्ध गराउन छनोट भएको एएआर कम्पनीका प्रतिनिधिसँग २४२ टनको साटो २३० टन क्षमताको विमान खरिद गर्ने सहमति गरेको थियो ।
ऋण लिने कागजात तयार गर्ने, भुक्तानीसम्बन्धी निर्णयका प्रक्रियाहरूमा समेत वित्त विभागका तत्कालीन प्रमुख अधिकारी संलग्न थिए ।
त्यसको अर्को महिना अर्थात फागुन, २०७३ मा निगम व्यवस्थापनले जहाज खरिदका लागि छलफल र वार्ता गर्न टोली गठन गरेको थियो । वार्ता टोलीले नै जहाज उपलब्ध गराउने कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरी आफ्नो विश्लेषण सहितको राय वायुसेवा निगमको सञ्चालक समितिमा पेश गरेको थियो, जसमा अधिकारी समेत संलग्न थिए ।
टोलीले चैतमा प्रस्तावबारे अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । उनीसँगै उपसमितिमा रहेका निगम कर्मचारीहरू भ्रष्टाचार आरोप सामना गरिरहेका छन् ।
युवराज अधिकारी निगमको कार्यकारी अध्यक्षमा नियुक्त भइसकेपछि अख्तियारले वाइडबडी विमान खरिद प्रक्रियामाथिको छानबिन अघि बढाएको थियो ।
त्यसै सिलसिलामा अधिकारीले एयरबसलाई निगमको तर्फबाट उडान भर्दाको अधिकतम क्षमता (म्याक्सिमम टेक अफ वेट–एमटीओडब्लु) थपघट गर्दा लाग्ने समय र शुल्कबारे एयरबसको मुख्यालयमा इमेलबाट सोधपुछ गरेका थिए ।
जवाफमा एयरबसले त्यसरी क्षमता फेरबदल गर्दा कम्तीमा ६ महिना चाहिने भन्दै लाग्ने शुल्कको विवरण समेत नेपाल वायुसेवा निगममा पठाइदिएको थियो । कार्यकारी अध्यक्ष युवराज अधिकारीले त्यो इमेलको सबै विवरण र एयरबसले खुलाएको व्यहोरा अख्तियार पठाइदियो, जुन अख्तियारका लागि भ्रष्टाचार मुद्दा चलाउन महत्वपूर्ण प्रमाण बन्यो ।
वाइडबडी विमान प्रकरणमा मुद्दा चलेका आरोपितहरूले एकातिर तत्कालिन वित्त विभाग प्रमुखलाई मुद्दा नचलाएकोमा प्रश्न गरेका छन् भने अर्कोतर्फ उनले अख्तियार पठाएको प्रमाणको औचित्यमाथि प्रश्न उठाएका छन् ।
तत्कालीन पर्यटन सचिव एवं निगमको सञ्चालक समितिका अध्यक्ष शंकर अधिकारीले विशेष अदालतमा बयानका क्रममा युवराज अधिकारीमाथि भ्रष्टाचार मुद्दा नचलाएकामा प्रश्न गरेका छन् ।
उनले बयानमा भनेका छन्, ‘आयोग र युवराज अधिकारीबीचको कपटपूर्ण अघोषित सहमतिबाट एकातर्फ उनलाई मुद्दा नचलाउने, अर्कोतर्फ उनीबाट अरुमाथि मुद्दा चलाउन सहज हुने गरी प्रमाण सिर्जना गर्न सघाउने अभिप्रायले निगम र एयरबसका कर्मचारी बीचमा इमेलको संवाद सुरु भएको देखिन्छ ।’
२०७५ सालमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भनी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सहितको पत्र पठाएको भए पनि लामो समय अनुसन्धान अघि बढ्न सकेन ।
गत फागुनमा मात्रै वायुसेवा निगमले जहाज ‘मोडिफिकेसन’ गर्दा लाग्ने समय र शुल्कका बारेमा एयरबसमा इमेल संवाद सुरु गरेको थियो ।
वाइड बडीको मुद्दामा प्रतिवादी निगमका तत्कालीन सञ्चालक बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका प्राविधिक सहसचिव समेत हुन् । उनले पनि विशेष अदालतको बयानमा वाइडबडी खरिद प्रक्रियामा संलग्न देखिएका युवराज अधिकारीमाथि मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि प्रश्न उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्