३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

२० भदौ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो।

त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।

ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् ।

सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले बताए ।

ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्