पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् : सभापति देउवा
२१ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।
हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्त्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।
तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्त्व छ । सभापति देउवाले हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्ब गर्दै आएको बताएका छन् ।
उनले तीज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।रासस
प्रतिक्रिया दिनुहोस्