३१ भाद्र २०८१, सोमबार
राजनीति समाचार

यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

२१ भाद्र, काठमाडौँ ।  सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मन्त्री अधिकारीले निरन्तर पहल गर्नुभएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।

यही भदौ १७ गते अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि सहमति दिएपछि बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट सो रकम बराबरको ऋण लिनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो ।

डिडिसीले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डिडिसीका नाममा ऋण लगानीअन्तर्गत रु एक करोड बजेट व्यवस्था भएकामा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप रु ५९ करोड रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्नेगरी मन्त्रिपरिषद् प्रस्ताव पेस गर्न सहमति दिइएको हो ।

यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणका रूपमा लगानी गर्नेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दसैँअघि नै दुग्ध किसानको बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो । अर्थको सहमतिसँगै मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ६० करोड ऋण सहयोग उपलब्ध गराउने छ ।

मन्त्री अधिकारीले असार ३१ गते जिम्मेवारी सम्हाल्दा दुग्ध किसानको एक अर्ब ५४ करोड रकम बक्यौता थियो । मन्त्रालयका सहसचिव सूर्य पौडेललाई मन्त्री अधिकारीले डिडिसीको जिम्मेवारीमा पठाएपछि त्यहाँ रहेको मखन, पाउडर दूध बिक्रीबाट रु ४० करोड बढी आम्दानी गरी किसानलाई रकम उपलब्ध गराइसकिएको छ ।

यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुनेछ ।

प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनुहुने छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा  अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । लामाले केही समयअघि रेडियो नेपालबाट २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिनुभएको थियो ।

यसैगरी सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ ।

बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्