३१ भाद्र २०८१, सोमबार
समाचार समाज सुदूरपश्चिम

भारतको सिमलाबाट घर फर्किदै गर्दा साथीबाटै लुटिएका धनबहादुर

२२ भाद्र,  कञ्चनपुर: रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेराका २५ वर्षीय धनबहादुर कामी भारतको सिमलामा स्याउ टिप्ने काम गर्थे । तीन महिनादेखि स्याउ टिप्ने काम गरिरहेका उनी बिरामी हुन थालेपछि चिनेजानेका नेपाली साथीसंगै घर फर्किए । तर घर फर्किने क्रममा साथीबाटै लुटिएपछि उनी अलपत्र हुन पुगे । सिमलाबाट संगै काम गर्ने साथीसंगै हिँडेका उनले बसमै अन्य नेपाली पनि भेटे । सबैले रुपेडिया नाकाबाट संगै जाने निधो गरे । त्यहीअनुसार उनीहरु चन्दीगढ बसपार्कमा उत्रिने भए । बसपार्क नपुग्दै सबैजना उत्रिए । कामी र उनका साथीभाई पनि झरे ।

‘त्यहाँ अरुले रक्सी खाए, मैले रोटी र मासु खाएँ,’ लुटिएपछि अलपत्र भएर जेनतेन शनिबार गड्डाचौकी पुगेका कामीले भने, ‘त्यसपछि बेहोस भइहालेँ, होसमा आउँदा आफूसँग केही थिएन ।’ १० हजार भारु, कपडाको झोला र मोवाइल सबै लुटिएको उनले बताए । सिमलाबाट आएका संगै काम गर्ने साथी पनि आफूसंगै नभेटेपछि उनले त्यसपछि मात्रै उनकै योजनामा आफू लुटिएँ भनेर महसुस गरे । कामी तीन महिनाअघि मात्रै स्याउ टिप्न सिमला पुगेका थिए । पटक(पटक बिरामी हुन थालेपछि उनी घर फर्किएका थिए । पहिलो पटक कामको खोजीमा गएका उनी साथीभाइबाटै लुटिएका हुन् । ‘संगै काम गर्थ्यौ, त्यहाँ पनि त्यसको बानी राम्रो थिएन,’ कामीले भने, ‘कुन ठाउँको हो भन्ने पनि राम्ररी थाहा भएन, म पनि घर जान्छु भन्यो बाटोमै अरुलाई पनि बोलाएर लुटेर भाग्यो ।’

प्रतिक्रिया दिनुहोस्