३१ भाद्र २०८१, सोमबार
समाचार समाज

‘कर्मचारीले आफूमाथि लाग्ने गरेको घुस्याहाको आरोप चिर्न सक्नु पर्दछ’ -पूर्वअध्यक्ष मैनाली

२२ भाद्र, भैरहवा । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले कर्मचारीले आफूमाथि लागिरहेको घुसखोरीको आरोपबाट मुक्ति पाउनुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना तथा कर्मचारी मिलन केन्द्र र आधिकारिक ट्रेड युनियन, रुपन्देहीको संयोजनमा शनिबार भैरहवामा आयोजित परिसंवाद कार्यक्रममा मैनालीले सरकारी सेवामा सुधार ल्याएर उक्त आफूमाथि लागि रहेको घुस्याहाको आरोप चिर्नु पर्ने बताएका हुन् । समाजमा कर्मचारीले राम्रो काम गरेपछि पनि यसको प्रशंसा नगन्य मात्रामा सुनिने गरेको भन्दै कर्मचारीको व्यवहारमा आमूल सुधार आवश्यक रहेको सुझाएका छन् ।

पूर्व गृह सचिवसमेत रहेका मैनालीले निजामती सेवाको साख घटेको र सेवा लिने क्रममा भोग्नु पर्ने झन्झटले सरकारी कार्यालय जानु नपरोस् भन्ने धारणा नागरिकहरूमा विकास भएको बताए । उनले कर्मचारीहरूसामु सप्रिने कि सकिने भन्ने दुई वटा विकल्प रहेको जनाए ।

यदि यही स्थिति रहन्छ भने राजनीतिज्ञहरूले कर्मचारीको विकल्प खोज्न थाल्ने पनि मैनालीको भनाई थियो ।

राजनीतिज्ञहरूले आफ्नो असफलता कर्मचारीमाथि आरोप लगाउने गरेको पनि उल्लेख गर्दै यस्तो अवस्थामा कर्मचारीहरूले सुरक्षित तरिकाले काम गर्न सुझाए । नैतिक शिक्षाको अभावले समाजमा भ्रष्टाचार बढी रहेको भन्दै यसलाई सुधार्न नैतिक मूल्यमा आधारित सामाजिक पूर्वाधार तयार गर्नुपर्ने मैनालीको जोड थियो । नयाँ पुस्ता पनि भ्रष्टाचारमा संलग्न रहेको उल्लेख गर्दै उनले भने, ‘नयाँ पुस्ता घुस्याहा हुन मिल्दैन, तर नैतिकता ह्रास भएको छ ।’

प्रविधिको उपयोगले सेवामा सुधार ल्याउन सकिने उल्लेख गर्दै मैनालीले प्रविधिको उच्चतम प्रयोग गरेर आफ्नो व्यवहार सुधार गर्न आग्रह गरे । भ्रष्टाचार नियन्त्रण गर्न व्यवहार परिवर्तन आवश्यक रहेको उनको भनाई छ ।

राजनीतिप्रतिको असन्तोषका कारण कर्मचारीमाथि कम प्रश्न उठेको तर भविष्यमा नागरिकका असन्तोष कर्मचारीमाथि खनिन सक्ने भएकाले सावधानी अपनाउन पनि उनले सुझाव दिए ।

मैनालीले कर्मचारीहरूबाट ठुलठुला अफ्ठेराहरू सुरक्षित अवतरण भएकोले अब जनतालाई प्रदान गर्ने सेवाबाट आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बेला आएको पनि बताए । ‘कर्मचारीहरूले २००७ सालदेखि विभिन्न कठिनाइहरू सामना गर्दै जनताको सेवा गरेका छन्,’ उनले भने, ‘अब राजनीतिमा अलमल नगरी जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।’ उनले कर्मचारीहरूले धेरै राम्रा काम गरेको भए पनि धेरै कर्मचारीहरू नसुध्रिदिएका कारण आलोचना बढेको बताए । कर्मचारीहरूले नागरिकहरूलाई स्वतन्त्र भएर सेवा दिनु पर्ने बताए । ‘सेवामा कुनै गन्ध हुनुहुँदैन, तटस्थ र कानुनअनुसार सहज हुनुपर्छ,’ उनले जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निजामती क्षेत्रमा गर्वका साथ काम गर्नका लागि वातावरण नभएको बताए । उनले मुलुकका संरचनामा परिवर्तन भए पनि कर्मचारीले आफ्नो भूमिका परिवर्तन गर्न नसक्दा समाजमा परिचित गराउँदा प्रतिरक्षा गरिदिने मानिस भेटिन छोडेको प्रसङ्ग जोडे । ‘प्रशासनिक काममा भ्रम र समस्याले प्रहार गरिरहेको छ,’ उनले भने, ‘कमीकमजोरीका जवाफ खोज्नुपर्ने छ ।’

गृह मन्त्रालयले तय गरेको मापदण्ड अनुसार रुपन्देही जिल्ला प्रशासनलाई मुलुकमा पहिलो स्थानमा राखिएको जनाउँदै अर्यालले नागरिकको विश्वास जित्नका लागि उच्च गुणवत्ता काम गर्न आवश्यक रहेको बताएका छन ्। उनले एक वर्षको कार्यकालमा २१ नमुना काम गरेको दाबी गर्दै नागरिकले मान्नुपर्ने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष चक्रपाणि पाण्डे र नेपाल राष्ट्रिय कर्मचारी संगठनका रुपन्देही अध्यक्ष उत्सव न्यौपानेले आ–आफ्नो धारणा राखेका थिए ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ नारासहित देशभर निजामती दिवस-२०८१ मनाई रहँदा रुपन्देही प्रशासनले यो अवसरलाई विशेष बनाउने थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्