२ आश्विन २०८१, बुधबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी

२४ भदौ, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् ।

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँले भेला भएर यहाँका विकास निर्माणका क्षेत्रमा काम गरिहेका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासीको सक्रियतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा बिछ्याउने, सडकको नाली कटाउनेलगायत काम गरिएको वडासचिव अशोक अधिकारीले जानकारी दिए ।

वडा कार्यालयको अनुरोध तथा स्थानीयवासीको सक्रियतामा सिक्रेटार बजारबाट लुङछुङसम्मको बाटो मर्मत गरिएको अरुण गाउँपालिका–७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाले बताए । श्रमदानमार्फत विभिन्न सडक मर्मतसँगै सरसफाइको काम भइरहेको उनी बताउछन् ।

“हामीले श्रमदानमार्फत सडक मर्मतसँगै विभिन्न काम गर्दै आएका छौँ”, वडाध्यक्ष थापाले भने, “सडक बिग्रिएर आवतजावतमा समस्यापछि वडाको अगुवाइमा श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ । सबै काम वडाको सीमित बजेटले गर्न सम्भव नभएपछि हामीले श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ ।”

श्रमदान अभियानलाई निरन्तर रूपमा अघि बढाउने हाम्रो योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ । श्रमदानमार्फत जरायोटार प्रहरी चौकीबाट पाडेखोलासम्मको सडक मर्मत गरिएको छ । त्यस्तै सिक्रेटार बजारसहित वडा तथा स्वास्थ्य कार्यालय आसपास क्षेत्रको सरसरफाइ गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्