बैतडीमा आत्महत्याको डरलाग्दो ग्राफ
२७ भदौ, गोठलापानी । बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सकेको छैन ।
आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ ।
पछिल्लो तीन बर्षमा बैतडीमा ९३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८÷७९ मा १२ महिला र २४ पुरुष गरेर ३६ जनाले आत्महत्या गरेका थिए । ती मध्ये ३० जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ६ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन् ।
यस्तै, आर्थिक बर्ष २०७९÷८० मा १३ महिला र १२ पुरुष गरेर २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यस्तै गत आर्थिक बर्षमा १६ महिला र १६ पुरुष गरेर ३२ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षको साउन मसान्तसम्म मात्रै ७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आत्महत्याका पछाडी आर्थिक र समाजिक कारणहरू जोडिएका हुन्छन् । आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु कारणहरू हुन् । यस्तै सामाजिक कारणमा परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध, बोक्सी, दाइजोजस्ता सामाजिक विकृतिले समेत मानिसलाई आत्महत्याको बाटो देखाउने गर्दछ । मानसिक तनाव अर्को कारण हो ।
त्यसमा कार्य असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र कतैकतै दीर्घरोग लागेका व्यक्तिले समेत अब ठीक हुन सकिन्न भन्ने थाहा पाएपछि धेरैले आत्महत्या गर्ने गरेका छन् ।
समाजबाट एक्लिन थालेको महसुस गरेपछि मानिस आत्महत्या गर्ने स्थितिमा पुग्छ । मेरा वरिपरि कोही छैनन्, म एक्लै भएँ भन्ने महसुस गरेपछि उसले बाँच्नुको अर्थ नदेखेर आत्महत्या गर्ने अवस्थामा पुग्ने गरेको मनोविद्हरु बताउँछन् । मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा समेत आत्महत्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस्