Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

रातो कागज
7 महिना अघि

२७ भदौ, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा दायर गरेका हुन् ।
राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन् ।
श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख गर्दै राउतले मुद्दा हालेको अदालतका एक अधिकारीले बताए । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ ।
उहाँले श्रीमतीसँग अंश सम्बन्ध विच्छेद गराउन मुद्दा दायर गर्नुभएको छ,’ जिल्ला अदालतका एक अधिकारीले भने, ‘श्रीमती सोनी सिन्धु रानीका व्यवहारले टर्चर भएको कुरा उल्लेख गर्नुभएको छ ।’
आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन् ।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो । पार्टी गठन गरेको एक वर्षमै जनमत राष्ट्रिय दल बन्न सफल भएको थियो ।
मधेस प्रदेशको सप्तरी जिल्लामा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । पछिल्लो समय उनको लगाव अध्यात्म, योग तथा ध्यानतिर देखिएको छ । उनले ‘वैरागदेखि बचावसम्म’ पुस्तक पनि लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया