११ मंसिर २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति

२७ भदौ,  कञ्चनपुर । कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति पुर्‍याएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगैको वर्षाले किसानले लगाएका उखु र धानबालीमा क्षति पुर्‍याएको हो ।

पसाउने क्रममा रहेका धानको लागि पानी पर्दा केही राहत भए पनि हावाहुरीले पसाएको धान ढलाउँदा किसान चिन्तित बनेका छन् । हावाहुरीले उखुमा पनि क्षति पुर्‍याएको छ । जिल्लाको बेल्डाँडी, बेलौरी, लालझाडी, पुनर्वास लगायत दोधराचाँदनी क्षेत्रमा लगाएका उखु हावाहुरीले ढलाएको छ ।

साउन अन्तिमतिर आएको वर्षाले जिल्लाको दक्षिणी क्षेत्र लगायत जिल्लाभर ठुलो क्षति गरेको थियो ।

कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टरमा धान र ८ हजार हेक्टरमा उखु खेती गरिने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि दत्त जोशीले बताए । जोशीका अनुसार वर्षाले डुबान र कटानले अन्नबालीमा नोक्सानी भएकोले औषतमा यो वर्ष २० प्रतिशत उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

गत वर्ष जिल्लामा प्रतिहेक्टर ४ मेट्रिक टन धान उत्पादन र प्रतिहेक्टर ६० टन उखु उत्पादन भएको थियो । हावाहुरीले गरेको क्षतिको तथ्याङ्क पालिकाले पठाए क्षति अनुमान गरिने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस्