कञ्चनपुरको दोदा नदीमा बाढी, धनगढी-बेलौरी सडक अवरुद्ध
२८ भदौ, काठमाडौं । कञ्चनपुरको पुनर्वासस्थित दोदा नदीमा बाढी आउँदा धनगढीबेलौरी हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । बुधबार रातीदेखि परेको अविरल वर्षाले दोदा नदीमा बाढी आउँदा पुनर्वास नगरपालिका-५ मा धनगढी बेलौरी हुलाकी सडकखण्ड अवरुद्ध भएको हो ।
अहिले आवतजावत बन्द गरिएको छ । सडक माथिबाट पानीको बहाब बढिरहेको छ भने पुनर्वास नगरपालिका-५ का सिमरी, रातोताल र पुनर्वास-२ को दशरथबस्ती डुबानमा परेको छ ।
बाढी आउँदा सिमरी र रातोतालका ६०/७० घरपरिवार डुबान र दशरथबस्तीका ६/७ घर डुबान परेको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए । घरभित्र पानी पसेका घरपरिवारहरुलाई नजिकैको विद्यालय र मन्दिरमा राखिएको प्रहरीले जनाएको छ ।
बस्तीमा पानी पस्न थालेपछि सुरक्षित स्थानमा स्थानान्तरणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी डुबान क्षेत्रमा खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्