२ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाज

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता 

भदौ, ३१ काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा आउने अपाङ्गता भएका बिरामीलाई बहिरङ्ग विभागमा २५ प्रतिशत र भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै सरकारको स्वास्थ्य बीमामा आबद्ध भएको, विपन्न नागरिक औषधि उपचार अन्तर्गतको र अन्य निःशुल्क उपचार सेवा प्राप्त हुने अवस्थामा ती सुविधाहरुलाई प्राथमिकतामा राखी उपचार सेवा उपलब्ध हुने र ती सुविधा सकिएपछि मात्र यो सम्झौता अनुसारको सुविधा लागू हुनेसमेत उल्लेख छ ।

यो सम्झौता आजका मितिदेखि आगामी असार मसान्तसम्म कायम रहने भएको छ । त्यसपछि आपसी सहमति र प्रभावकारी हेरी पुनः सम्झौता गर्न सकिनेसमेत जनाइएको छ ।

बिरामीको उपचार गर्दा भने विशेष ध्यान दिइ सहयोगीसहित सेवा दिनेसमेत उल्लेख रहेको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

सो सम्झौता कार्यक्रममा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं अभिनेत्री रेखा थापाले केएमसीले पूण्य काम गरेको भन्दै खुशी लागेको बताइन् ।

उनले मोरङ ३ मा डा। शर्माले गरेको योगदानप्रति आफूले पनि गर्व गरेर मेरो क्षेत्रको सांसद भनेर गौरव गर्ने गरेको बताइन् ।

डा. शर्मालाई हेर्दै उनले शर्माविरुद्ध प्रतिनिधि सभाको निर्वाचनमा चुनावमा लडेको भए पनि शर्माले गरेको काम भने सधै प्रशंसायोग्य भएको बताइन् ।

त्यस्तै डा. शर्माले यो आफूहरुको सामाजिक उत्तरदायित्व भएको भन्दै अपाङ्गता भएकाहरुलाई सहयोग गर्न पाउनु एउटा पूण्यको काम पनि भएको बताए । उनले आगामी समयमा थप सहयोग पनि गर्ने बताए ।

त्यस्तै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य चम्लागाईले यो सम्झौतासँगै देशभरका लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सबै सदस्यले सुविधा पाउने बताए ।

उनले केएमसीसँगै डा। शर्माप्रति आभार व्यक्त गर्दै यो अभियान डा। शर्माका अन्य अस्पतालमा पनि सम्झौता गर्ने बताए ।

त्यस्तै अन्य अस्पतालहरुसँग पनि सम्झौता प्रक्रिया अगाडि बढाउने चम्लागाईले जानकारी दिए ।

अपाङ्ग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठले यो सहमतिले अपाङ्गता भएकाहरुलाई जीउन थप उर्जा मिलेको बताए । उनले अपाङ्गता भएकाहरुले अस्पतालमा पुगेर टिकट काट्ने स्थलसम्म पुग्न नसकेको अवस्थामा अबदेखि भने उपचारको अभावमा मृत्युवरण गर्न नपर्ने बताए ।

उनले सरकारी अस्पतालमा केही सीमित छुट दिएको भए पनि केएमसीले देखाएको सदासयता भने अब देशभरकै अस्पतालमा अभियानका रुपमा लिएर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्