३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

धनगढी उपमहानगरपालिकाले मनायो १० औँ स्थापना दिवस

१ असोज, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना दिवस मनाएको छ । मंगलबार उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा १० औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने सातवटा संस्थालाई सम्मान गरेको छ ।

चार लाख ९७ हजार सहयोग गर्ने माछापुच्छ्रे बैँक, पाँच लाख सहयोग गर्ने एलआरआए स्कुल, पाँच लाख सहयोग गर्ने गोलोबल बैँक, पाँच लाख सहयोग गर्ने कृषि विकास बैँक, पाँच लाख २५ हजार सहयोग गर्ने हिमालयन डिस्टिलरी, पाँच लाख २५ हजार सहयोग गर्ने भाटभटेनी र १३ लाख १५ हजार सहयोग गर्ने शिखर इन्सुरेन्सलाई सम्मान गरिएको छ। उपमहानगरपालिकाले ६ लेन सडकमा तारजालीसहित वृक्षारोपणमा सहयोग गर्ने २ संस्थालाई समेत सम्मान गरेको छ ।

धनगढी विमानस्थल चोकदेखि मोहनपुर गेटासम्म ५० लाखको तार जालीसहित वृक्षारोपण गरेको सूर्य नेपाल प्रालि र धनगढी चौराहादेखि भन्सारसम्म तारजालीसहित वृक्षारोपणमा सहयोग गरेको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजलाई सम्मान गरिएको छ ।

यस्तै, कक्षा ८ को वार्षिक परीक्षामा तीन दशमलव ९७ जिपिए ल्याएका एक्सिस विद्या आश्रमका विद्यार्थी विवता भुल, थ्री स्टारका तीन दशमलव ९७ जीपीए ल्याएका विज्ञान कठायत, पञ्चोदयका तीन दशमलव ८७ जिपीए ल्याएकी समीक्षा कुमारी जैशी र त्रिभुवन माविबाट तीन दशमलव ७६ जिएप ल्याएका डेनिस बमलाई २५ हजार नगद र प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

उपमहानगरपालिकाले ग्यालेक्सीका आकाश ठगुन्ना र पञ्चोदयका सुमन भट्टलाईसमेत २५ हजारसहित सम्मान गरेको छ। उनीहरुले एसइइको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका थिए । ठकुन्नाले तीन दशमलव ९५ जिपिए र भट्टले तीन दशमलव ८६ जिपीए ल्याएका थिए। कक्षा १२ को परिक्षामा सर्वाधिक अंक ल्याएका कैलाली मोडलका विद्यार्थी निराजन पाण्डे र त्रिनगर माविका सुनिल भट्ट सम्मानित भएका छन् । पाण्डेले तीन दशमलव ९२ जिपीए ल्याएका थिए भने, भट्टले तीन दशमलव ६६ जिपीए ल्याएका थिए। उनीहरूलाई पनि नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

उपमहानगरपालिका क्षेत्रका २ विद्यालयलाई समेत सम्मान गरिएको छ । कक्षा ८ को परीक्षामा ५० भन्दा बढी विद्यार्थी सहभागी गराएर बढी प्रतिशत विद्यार्थी उत्तीण गराएको मिलन इंलिस स्कुल र बेहडाबाबा मविलाई ५० हजारसहित सम्मान गरिएको हो । हाम्रो धनगढी, सफा धनगढी अभियानलाई सहयोग गरेका राइजिग् स्टार र बेहडाबाबालाई सम्मान गरिएको छ । उनीहरूलाई पाँच लाख रुपैयाँ नगद, रनिङ ट्रफि र प्रमाणपत्र दिइएको हो ।

सरसफाइसँगै जनचेतनाका कार्यक्रम गरेको आदर्श टोल सरसफाइ समितिलाई समेत सम्मान गरिएको छ । उपमहानगरपालिकाले १० लाख सहित समितिलाई सम्मान गरेको हो । उपमहानगरपालिकाले शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरेको छ । उनीहरुलाई ५० हजारसहित सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्