३ आश्विन २०८१, बिहीबार
समाचार समाज

नेपालमा कल सेन्टर खोलेर विश्वभरी ठगी

१ असोज, काठमाडौँ । कल सेन्टरको आवरणमा कार्यालय राखेर अनलाइनमार्फत ठगी तथा क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन विदेशीले विगतमा दुबईमा बसेर यस्तो अपराध गरेको खुलेको छ ।

दुबईमा पक्राउ परेपछि उनीहरु नेपाल आएर यस्तो अपराधमा संलग्न थिए । ललितपुरको एकान्तकुनामा घर भाडामा लिएर चिनियाँ नेतृत्वको गिरोहले विश्वभरी नै ठगी गर्दै आएकोमा गत साता प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले दुई चिनियाँ, एक फिलिपिनी र अन्य ४७ नेपालीलाई पक्राउ गरेको थियो । त्यसमध्ये ४२ जना सामान्य कामदार मात्र देखिएकाले उनीहरुलाई छाडिएको र अन्य आठ जनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको छ । थुनामा राखिएकाहरूमा चिनियाँहरू डिङ जियाहोङ र लिन क्वीनजिन छन् । त्यस्तै, फिलिपिन्सकी हनिपा सिन्सुवात भाषा अनुवादकका रुपमा कार्यरत थिइन् ।
सो कल सेन्टरमा चिनियाँहरुको ग्रुप लिडरका रुपका काम गर्दै आएका रौतहटका कमल कँडेल, इलामका संदीप आचार्य, झापाका सुजन प्रधान, बिजयबहादुर गिरी र घर भाडामा लिएर चिनियाँलाई लगाउने नवलपरासीका सुदीप अधिकारी पनि प्रहरी थुनामा छन् ।

सो कल सेन्टरबाट महिला बनेर विभिन्न डेटिङ एपमार्फत विश्वभरीका मान्छेहरुसँग कुरा गर्न लगाउने र क्रिप्टोमा लगानी गर्न लगाएर ठगी हुने गरेको एसपी बोगटी बताउँछन् । चिनियाँ र फिलिपिनील विगतमा दुबईमा यस्तो अपराध गरेकोमा त्यहाँ पक्राउ परी डिपोर्ट गरिएको समेत खुलेको छ । ‘त्यसपछि उनीहरूले नेपालमा आएर यस्तो काम सुरु गरेको देखिन्छ,’ एसपी बोगटीले भने । पक्राउ परेका उपर अभौतिक मुद्राको प्रयोग गर्न नहने कसुर अन्र्तगत कारबाही अघि बढेको छ । सो घरबाट प्रहरीले मोबाइल, ल्यापटप लगायत सामान बरामद गरी विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्