३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल

१ असोज,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. केशरजंग बरालले शिक्षामा नीतिगत सुधार नगरी देशमा सुधार हुन नसक्ने बताएका छन् ।

नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सव विशेष कार्यक्रमकोउद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको उल्लेख गर्दै उपकुलपति बरालले त्यसो हुँदा नयाँ कार्यक्रम अगाडि बढाउन कठिनाइ भएको बताए । सरकारले शिक्षामा लगानी गर्न नसक्ने हो भने सक्ने विद्यार्थीबाट शुल्क उठाउने र नसक्नेलाई निस्शुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।

उपकुलपति बरालले लामो समय सेवा गरेका प्राध्यापकहरु सेवाबाट अवकाश हुँदै जाने अनि सेवा आयोगबाट नयाँ नियुक्ति नहुँदा कतिपय कलेज रित्तिने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गरे । यो अवस्थाबाट अघि बढ्नुपर्नेमा सेवा आयोगमा राजनीतिक भागबण्डा नमिल्दा नियुक्ति प्रकृयामा ढिलाइ भएको उनले प्रस्ट पारे । आंशिक शिक्षकको समस्या समाधानका लागि एकमात्र विकल्प भनेको सेवा आयोगले विज्ञापन खुलाउने नै हो भन्दै उनले अब छिट्टै ७ सय नयाँ शिक्षकको विज्ञापन गरिने पनि जानकारी दिए।

उपकुलपति बरालले बीपीएसजी, फेसन डिजाइनजस्ता नयाँ कार्यक्रम सुरू गरेकामा पद्मकन्या क्याम्पसलाई धन्यवाद दिए । राणा शासन समाप्तिपछि महिला सशक्तीकरणका लागि छुट्टै कलेजको आवश्यकता महसुस गरेर स्थापना गरिएको पद्मकन्या क्याम्पसको फरक पहिचान र महत्त्व रहेको उनले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा। जयालक्ष्मी प्रधानले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राज्ञिक स्वायत्तताका लागि क्याम्पसलाई २०८१ चैतभित्र क्वालिटी असुरेन्स एण्ड एक्रेडिएसन (क्यूएए) मा लैजाने जानकारी गराइन् । प्राध्यापक तथा कर्मचारीहरुलाई लघु अनुसन्धानमा संलग्न गराएर जर्नल प्रकाशनको व्यवस्था मिलाइएको उनले बताइन् ।

कार्यक्रममा उपकुलपति बरालले क्याम्पसमा लामो समय सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई सम्मान पनि गरेका थिए । वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

नारी सशक्तीकरणका लागि गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ सुरु गरिएको पद्मकन्या क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा अघि २००८ साल असोज १ मा पद्मकन्या कलेज स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्