६ मंसिर २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

चिकित्सक हत्यामा विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

१ असोज, कोलकाता । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रूर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि शहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।

अगस्त ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।

उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरिन् ।

जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइनेछ ।

मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हड्तालले आपत्‌कालीन सञ्चालन प्रभावित भएको बताइन् ।

तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ, तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।

‘हामी केही विन्दुमा सहमत भएका छौँ, तर असहमति कायमै छ’, महतोले भने । पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौँ प्रदर्शनकारीले शहरका सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए ।

हत्याको क्रूरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्‍याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो ।

आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार र हत्यासँग गर्न थालिएको छ ।

दिल्ली घटना प्रमुख राजनीतिक मुद्दा बन्यो र निर्वाचनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)को सफलतामा एक कारकका रूपमा हेरियो ।

भाजपा मुलुकभरमा सत्तारूढ पार्टी हो, तर पश्चिम बङ्गाल राज्य सरकारको नेतृत्व अखिल भारतीय तृणमूल काङ्ग्रेससँग छ । रासस

प्रतिक्रिया दिनुहोस्