३ आश्विन २०८१, बिहीबार
बैंक–वित्त

‘राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून आवश्यक’

२ असोज, ‘काठमाठौं । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनामा छुट्टै कानून बनाउनु पर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा टुक्रा टुक्रा कुरा गर्नुभन्दा छुट्टै कानून बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अबका योजनाहरुमा दिगोपन ल्याएर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ । उर्जा मन्त्रालयले पनि त्यतातिर कदम चाल्नुपर्छ । राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा टुक्रा टुक्रा कुरा गर्नुभन्दा पनि छुट्टै कानून बनाउनुपर्छ नेपालमा । राष्ट्रिय गौरवको आयोजनामा छुट्टै कानून बनाउनुपर्छ भनेर हाम्रो समिति भन्दै आएको हो । अहिले पनि हामी सरकारसँग छलफल गरिरहेका छौं ।’

यस्तै, उनले सरकारले मन्त्री पिच्छे आयोजनाहरु छान्ने गरेका कारण आयोजना कार्यान्वयनहरु एकदम कमजोर भएको भन्दै राष्ट्रिय गौरवको आयोजनामा मापदण्ड बनाउनुपर्ने बताए ।

उनले भने, ‘सरकारले पनि मन्त्री पिच्छे आयोजनाहरु छान्ने गर्दछ । त्यसकारण आयोजना कार्यान्वयनहरु एकदम कमजोर हुन्छन् । अहिलेपनि २४, २५ वटा आयोजनाहरु लथालिंग छन् । सरकारले पनि कुन कुन योजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनामा राख्दा उपयुक्त हुन्छ भन्ने मापदण्ड बनाउनुपर्छ भनेर हाम्रो समितिले बारम्बार भन्दै आइरहेको छ ।’

साथै, समितिको टोली असोज ७ गते पश्चिमका केही योजनाहरुको अनुगमनमा जाने पनि उनको भनाई छ ।

उनले भने, ‘हाम्रो समितिको टोली असोज ७ गते पश्चिमका केही योजनाहरुको अनुगमनमा जाँदैछौं । त्यसपछि हामीले के निर्देशन दिनुपर्ने हो दिन्छौं । उर्जा  मन्त्रालयले योजना अगाडि बढाउँदा कुन मुलुकको अर्थतन्त्रमा सहयोग पुग्छ भन्ने विषयमा हेर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्