३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

संविधान दिवस : बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान

२ असोज, म्याग्दी । संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्कदेखि म्याग्दी र कालीगण्डकीको दोभान हुँदै दरवाङ बसपार्कसम्म सरसफाइ गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बसपार्क र कालीगण्डकी तथा म्याग्दी नदी किनार आसपासका ठाउँमा फालिएका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिए । “डेङ्गुको जोखिम पनि रहेकाले सचेतनाका लागि फोहर व्यवस्थापनसँगै झाडी पनि हटाइएको छ,” उनले भने “सरसफाइप्रति समुदायलाई सचेत बनाउन साङ्केतिक रुपमा कार्यक्रम गरिएको हो ।”

नदी किनार र सडक छेउमा धेरै फोहर भेटिएको ठाउँ नजिकैका घरधनीलाई सम्बन्धित वडा कार्यालयमार्फत व्यवस्थापनका लागि ताकेता गर्न निर्देशन दिएको जिसस प्रमुख थापाले बताए ।

जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, सङघ संस्थाका प्रतिनिधिको सहभागितामा सरसफाइ गरिएको थियो । म्याग्दीमा बुधबार, बिहीबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । सार्वजनिकस्थान तथा सरकारी कार्यालय सरसफाइ र साँझ कार्यालयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान बेनी बजारमा र्‍यालीको आयोजना गरिएको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो ।

संविधान दिवसमा रक्तदान र सरसफाइ

संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा आज रक्तदान र सरसफाइ कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम गर्ने निर्णय बमोजिम रक्तदान र सरसफाइ गरिएको हो ।

दमौली अस्पताल र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा दमौली अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौली अस्पतालमा रगतको मागलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताए।

अहिलेको समयमा संविधान संशोधनको आवाज उठिरहेकाले यस विषयमा छलफल गर्न आवश्यक रहेको वाग्लेले बताए । संविधानले हरेक वर्गलाई अधिकार दिएको बताउँदै वाग्लेले संविधान समयानुकूल परिमार्जन गर्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रक्तदान जीवनदान भएकाले रक्तदाताले समय–समयमा रक्तदान गर्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्राडा कृष्णप्रसाद गौतमले हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्नसक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह गरे । यसअघि व्यास नगरपालिकाको व्यवस्थापनमा दमौली बजार क्षेत्र सरसफाइ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि एवं सर्वसाधारणको उपस्थितिमा मालपोत लाइन, प्रशासन चोक, दमौली अस्पताल परिसर, खुल्ला चौरमा सरसफाइ गरिएको थियो । संविधान दिवसको अवसरमा आजदेखि शुक्रबारसम्म जिल्लामा विविध कार्यक्रम हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्