३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

३ असोज, काठमाडौँ । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहँदा राजधानी काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ ।

संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान नेपाल’को अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो ।प्रदर्शनका क्रममा माइतिघरदेखि नयाँ बानेश्वरसम्मको मुख्य सडक केही घण्टा अस्तव्यस्त बनेको थियो भने सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न असहज भएको थियो ।

अभियानका संयोजक खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत आव्हान गरेकोमा देशभरबाट आएका दलित समुदायका युवा उक्त प्रदर्शनमा सहभागी भएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै संयोजक सुनारले करिव ४५ दिनदेखि माइतीघर मण्डलामा नेल लगाएर प्रदर्शन गरिरहेकोमा संविधान दिवसका अवसरमा माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोको व्यवस्था नगरेको भन्दै युवाले विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर ‘दलितलाई खै’ भन्दै प्रदर्शन गरेका हुन् ।

माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिसकेपछि नयाँ बानेश्वरमा उक्त प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई संयोजक सुनारले सम्बोधन गरेका थिए भने कलाकार हेमन्त कान्छा रसाइली, आयुस परियार लगायतले जातीय विभेद विरुद्धका गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्