४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन

४ असोज, काठमाडौँ । काँग्रेस उपसभापति धनराज गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास गरेको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।

‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ । निजहरूको सम्बन्ध विच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’

यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्