६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार

बेपत्ता व्यक्ति भेटिए, आरोपित थुनामै

६ असाेज, काठमाडौँ । गत मंसिरमा बेपत्ता भएका ताप्लेजुङका एक व्यक्ति नौ महिनापछि फेला परेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ घर भई फुङ्लिङ नगरपालिका-४ बस्दै आएका वीरेन्द्र फेम्बु लिम्बू फेला परेका हुन् ।

वीरेन्द्र केही दिन अघि भक्तपुरको सूर्य विनायक नगरपालिकामा रहेको आश्रममा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कागज गरी वीरेन्द्र अहिले दाजु खगेन्द्र फेम्बु लिम्बूको संरक्षणमा छन् । वीरेन्द्रलाई बेपत्ता बनाएको आरोपमा अर्का व्यक्ति भने थुनामा छन् ।

वीरेन्द्रलाई बेपत्ता बनाएको आरोपमा फुङ्लिङ नगरपालिका-६ का मञ्जुल निरौला थुनामा रहेका हुन् । बेपत्ता भएका व्यक्ति भेटिए पनि अदालती प्रक्रियाका कारण निरौला थुनामा रहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

निरौलाविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । निरौलाविरुद्धको अपहरण तथा बेपत्ता मुद्दा उच्च अदालत विराटनगर, इलाम इजलासमा विचाराधीन अवस्थामा छ ।

यसअघि बेपत्ता भनिएका वीरेन्द्रका दाजु खगेन्द्रले अपहरण गरी बेपत्ता बनाएको अभियोगमा जाहेरी दिएकोमा ताप्लेजुङ जिल्ला अदालतको आदेशबाट निरौला थुना छन् । निरौलामाथि वीरेन्द्रलाई काठमाडौँसम्म गाडीमा पठाएर बेपत्ता बनाएको आरोप लगाइएको थियो । जिल्ला अदालतको आदेशपछि निरौला उच्च अदालत पुगेका थिए ।

अदालती प्रक्रियाका कारण निरौला अझै केही दिन थुनामै बस्नुपर्ने छ । जिल्ला अदालत ताप्लेजुङले घटनासँग सम्बन्धित मिसिल २०८१ असार ५ मा उच्च अदालत विराटनगर, इलाम इजलासमा पठाएको जनाएको छ । उच्च अदालतको आदेश अनुसार मिसिल पठाएको ताप्लेजुङ अदालतका स्रेस्तेदार मनोज बरालले जानकारी दिए ।

उच्च अदालत विराटनगर, इलाम इजलास प्रवक्ता युगेन काजी बान्तवा अनुसार असोज १० गते मुद्दाको पेसी तोकिएको छ । निरौलाविरुद्ध अपहरण गरी बेपत्ता पारेको कसुरमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्