७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार

अमेरिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित

७ असाेज, काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।

न्युयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो ।

प्रधानमन्त्री ओलीको स्वागतमा राखिएको कार्यक्रममा नेपाली समुदायले गैर आवासीय नागरिकता प्रभावकारी नभएकोले पुरानै नागरिकताको निरन्तरता र ड्यालस तथा क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको लागि आवाज उठाउने तय भएको थियो । त्यसका लागि क्यालिफोर्निया, टेक्सासबाट नेपाली समुदायका अगुवाहरू न्यूयोर्क पुगेका थिए ।

प्रधानमन्त्रीको कार्यक्रम नहुनुलाई नेपालमा पछिल्लो समयमा उत्पन्न घटनाक्रमसँग पनि केहीले जोडेर हेरेका छन् ।  विशेषगरी पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा परेको र अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिने तयारी भैरहेको छ ।

अभियन्ता भनिएका दुर्गा प्रसाईँलाई पनि प्रहरीले हिरासतमा राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्