८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलको निर्देशन

८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।

काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए ।

एक वर्ष अघि नै काम थालिएपनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक पटक पहल थालेका थिए ।

सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए । त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीनसय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो ।

सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

बुधबार पुनः निरीक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए । मन्त्रीसामू सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए ।

सडकअन्र्तगतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ । प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरुले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्