९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

तराई मधेसका महिलाहरुले आज जितिया पर्व धुमधामका साथ मनाउँदै

९ असाेज, काठमाडौँ । देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् ।

तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् ।

बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो ।

यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी÷सखर, भिजाएको केराउ, दही-च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्