जङ्गली हात्तीले कञ्चनपुरमा पाक्नै लागेको धानबाली नष्ट
१० असाेज, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ। स्थानीय किसान प्रतापसिंह रतोकीका अनुसार एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको बताए । साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए।
स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सकिएको उनले बताए । खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पनि नभएको उनले बताए । त्यहाका बासिन्दाले हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेको समेत बताए । वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको र हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका बताए ।
प्रतिक्रिया दिनुहोस्