११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

आज र भोलि देशभरी भीषण वर्षा, ४२ जिल्लामा रात्रिबस चलाउन रोक

११ असाेज, काठमाडौँ ।   शुक्रबारदेखि देशभरै वर्षा फैलिएको छ । कतिपय जिल्लामा भीषण वर्षा भएको छ । वर्षा आइतबार दिउँसोसम्मै रहने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा भएको हो । जसकारण पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयले भीषण वर्षाको सम्भावना रहेका ४२ जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।

शुक्रबार राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना छ ।
शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

कुन कुन जिल्लामा रात्रिबस चलाउन रोक ?
कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न रोक लगाइएको छ ।
गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ ।

कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । प्राधिकरणले आगामी आइतबारसम्म धान नकाट्न अनुरोध गरेको छ भने काटिसकेको भए भित्र्याउन भनेको छ । त्यस्तै, तराई र मधेशमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्