११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टीमा संगठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल

११ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले पार्टीमा संगठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला संघको चौथो बैठकमा उनले संगठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए।

महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी संगठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे। उनले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्ती बस्तीसम्म लैजान आवश्यक रहेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले यस वर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिए।  यसैगरी उनले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली काँग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गरे । “संविधान जारी भएको १० वर्षका सबल र दुर्लभ पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक संकट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भने ।

उनले ठुला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको धारणा राखे। “पार्टी-पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उनले भने।

महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न संकलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताए। यसले मुलुक संकटबाट मुक्त नभए पनि सुधारका संकेत देखिएको उनको भनाइ थियो । स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष टुकाभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्