१२ असाेज, काठमाडौँ  । बिहीबार रातीदेखि आएको अविरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार, जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा पुरिएर हालसम्म २५ जना बेपत्ता भएको जानकारी प्रहरीले पाएको छ ।

त्यस्तै, विभिन्न स्थानमा भएको घटनामा १८ जना घाइते भएका छन् । ७० जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, बिहीबार रातीदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले जिल्लाको १३ वटा पालिकामध्ये कुन ठाउँ“मा के कति क्षति भयो ? कहाँ“ के भइरहेको छ भन्ने बारेमा यकिन विवरण निकाल्न सकिएको छैन ।

‘कतिपय पालिकामा बाढी र पहिरोले सञ्चार लाइन पुरै अवरुद्ध भएको छ, बाढी र पहिरोका कारण अधिकांश स्थानमा यातायात पुग्न सक्ने स्थित भएन, जस कारण पनि उद्धारका लागि प्रहरी समयमै पुग्न सकेन ।’ विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले जिल्लाभरको यकिन विवरण आउन केही समय लाग्ने उनले जानकारी दिनुभयो ।

अविरल वर्षा सहित आएको बाढी र पहिरोले जिल्ला स्थित दुई मुख्य राजमार्ग अरनिको र वि. वि.पी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार, अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सो क्षेत्रमा पनि यातायात सञ्चालन अवरुद्ध भएको छ ।

त्यस्तै, जिल्ला स्थिति वि.पी राजमार्गमा पनि शुक्रबारदेखि नै यातायात सञ्चालन अवरुद्ध भएको छ । वर्षा सहित आएको बाढी र लेदोका कारण राजमार्गका विभिन्न स्थान सडकनै बगाउँदा अवरुद्ध भएका छन् ।

बाटो खुलाउनको लागि प्रहरी, स्थानीय निकाय र सडक विभाग“ग आवश्यक समन्वय भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपा स्थित पुल बजार क्षत्र शनिवार बिहानदेखि डुबानमा परेको थियो ।

वर्षा रोकिए संगै पुलमा पानीको सतह घटेपछि राजमार्गमा यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

जिल्ला स्थित वी.पी राजमार्ग अवरुद्ध भएपछि रोशीमा अलपत्र परेका यात्रुलाई राहत खाद्यन्न बोकेर रोशी गएको हेलिकप्टर ल्यान्डिङ्ग हुन नसकेपछि फर्किएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले सहयोगमा राजमार्गमा शुक्र बारदेखि अलपत्र परेका यात्रुहरुलाई खाद्यन्न बोकेर नेपाली सेनाको हेलिकप्टर शनिवार सा“झ ६ः०० बजेको समयमा धुलिखेलबाट उडेको जिल्ला स्थित कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाश बहादुर सिंले जानकारी दिनुभयो । उहाँका अनुसार, मौसम प्रतिकुलताका कारण हेलिकप्टर ल्यान्ड गर्न नसकेपछि पुनः धुलिखेल नै र्फिता भएको हो ।