उपत्यकाव्यापी कराते आज
१७ असोज, काठमाडौं । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आज हुने भएको छ ।
प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
शीर्ष ३ स्थानमा रहने टिमसंगै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ ।
गत संस्करणमा लूभु डोजो टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्