पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
२ कात्तिक, सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उसले २८ किलोमिटरको दूरी दुई घण्टा २८ मिनेटमा पूरा गरेको थियो ।
दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेको थियो ।यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गरेको थियो । आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् । महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताए ।
प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकी अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा र रोल्पाकी आश्मा विकले तीन घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चाँैथो र पाँचाँै स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो , तेस्रो, चौँथो र पाँचौँ हुनेले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद क्रमशः ५० हजार,२५ हजार,१५ हजार,१० हजार र पाँच हजार प्राप्त गरेका छन् । विजेतालाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्