५ कार्तिक २०८१, सोमबार
मुख्‍य समाचार समाज

ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

५ कात्तिक, मन्थली (रामेछाप) । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

पाँच रोपनीमध्ये तीन रोपनीमा उसले ड्रागन फ्रुट मात्रै लगाएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेको छ । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेको थियो । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उसले त्यससँगै सयपत्री फूल पनि रोप्नु भएको थियो । एउटै जग्गाबाट अहिले उसले दोहोरो लाभ लिएको छ । उसले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाए ।

उसले भने, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उसको भनाइ छ ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए ।

साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका विरुवा उत्पादनका लागि रु पाँच लाख अनुदान लिनुभएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए ।

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उसले भने, “मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।”

उसले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उसले ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० र सयपत्री फूल प्रतिकेजी रु दुई सय ५० मा बिक्री सुरु गर्नुभएको छ । यस वर्षको तिहारमा उसले सयपत्री बिक्रीबाट रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्